एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी
बाँकी केन्द्रीय सदस्य र पदाधिकारीको धारणा सुनेपछि आजै अध्यक्ष ओलीले जवाफ दिने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठक आज पनि ललितपुरको जावलाखेलमा जारी रहनेछ। तेस्रो दिनको बैठक बिहान ८ बजेदेखि सुरु हुने प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयाे।
दोस्रो दिनको बैठकमा १४७ जना केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीद्वारा बुधबार प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमाथि धारणा र सुझाव प्रस्तुत गर्नुभएकाे थियाे। पहिलो दिन बुधबार ५० जनाले धारणा राख्नुभएकाे थियाे।
बैठकमा प्रत्येक सदस्यलाई तीन मिनेटको समय दिइएको छ। आज बाँकी केन्द्रीय सदस्यहरूसँगै पदाधिकारीहरूले पनि आफ्नो धारणा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
पदाधिकारीहरूको धारणा सुनेपछि अध्यक्ष ओलीले प्रतिवेदनमाथि आएका सुझाव र जिज्ञासाहरूको समष्टिगत रूपमा जवाफ दिनुहुनेछ। त्यसपछि बैठक समापन गरिने कार्यक्रम छ।
प्रतिक्रिया राख्नुहोस्