तपाईँ सुन्दै हुनुहुन्छः

पुष्प व्यवसायबाट नवलपरासीलाई आत्मनिर्भर बनाउने लक्ष्यमा २७ वर्षे युवा

नवलपरासी। २७ वर्षका युवा खुमाकान्त न्यौपानेले नवलपरासीलाई फुल उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित कृषि क्षेत्रमा प्रेरणादायी पहल थालेका छन्। करिब सात वर्षसम्म बर्दघाट नगरपालिकामा कृषि प्राविधिकको रूपमा सेवा गरेपछि उनी हाल करिब एक हेक्टर क्षेत्रमा फुल खेती गर्दै आएका छन्।

न्यौपानेका अनुसार, आगामी तीन–चार वर्षभित्र जिल्लालाई फुल उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य छ। उहाँका अनुसार चाडपर्व, विवाह र विभिन्न धार्मिक समारोहमा आवश्यक पर्ने फुल स्थानीय स्तरमै उत्पादन गर्ने योजना रहेको छ।

उहाँले भन्नुभयो , “हामीले थोरै प्रयास गरे पनि यहाँको माटो र मौसम फुल खेतीका लागि उपयुक्त छ। यदि युवाले उत्साहपूर्वक कृषिमा लागे भने केही वर्षमै भारतबाट फुल आयात गर्नुपर्ने अवस्था हटाउन सकिन्छ।”

न्यौपानेले फुल खेतीमार्फत पर्यावरण संरक्षण र प्लास्टिकजन्य सामग्रीको प्रयोग घटाउने लक्ष्य राखेका छन्। उहाँले भन्नुभयो , “यदि नगर वा जिल्ला फुलमा आत्मनिर्भर भयो र प्लास्टिकजन्य सजावट हट्यो भने त्यसमा थोरै श्रेय मलाई पनि लाग्नेछ, त्यो दिन म सन्तुष्ट हुनेछु।”

उनको फुलखेतीले पहेँलपुर फुलमार्फत सबैलाई आनन्दित बनाइरहेको छ र अन्य युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ। खुमाकान्त न्यौपानेले फुल खेतीमार्फत जिल्लाका युवालाई रोजगारी सिर्जना गर्ने र कृषिप्रति आकर्षण बढाउने विश्वास व्यक्त गर्नुभएको छ। स्थानीय तहको सहयोग र आधुनिक प्रविधिको प्रयोगसँगै उनले फुल खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने तयारी पनि गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button