तपाईँ सुन्दै हुनुहुन्छः

छठ र दीपावली नजिकिँदै: माटोमा व्यस्त नेपालगञ्जका कुम्हारहरू

बाँके । नेपालगञ्ज उप–महानगरपालिका–१३ का कुम्हार समुदायका हातमा अहिले माटो मात्र होइन, परम्परा र संस्कृतिको जीवन पनि घोलिएको छ । छठ र दीपावली नजिकिँदै गर्दा उनीहरू बिहान सबेरैदेखि बेलुकी ढल्केसम्म दियो, कलश, ठेकी, डिबिया, धूपदानी र पूजामा प्रयोग हुने माटाका सामग्री बनाउन व्यस्त छन् ।

चाडपर्व नजिकिएसँगै बजारमा माटाका सामग्रीको माग तीव्ररूपमा बढेपछि अर्डर पूरा गर्नसमेत कठिनाइ भएको नेपालगञ्ज–१३ का सावित कुम्हार भन्छन्, “माटाका भाँडालाई पूजा–पाठका लागि शुद्ध मानिन्छ । दीपावली र छठमा विशेष गरी माटाका दियाकै प्रयोग हुने भएकाले अहिले माग निकै बढेको छ ।”

उनीहरू बिहान सबेरैदेखि साँझ ढल्दासम्म माटो मोल्ने, आकार दिने र पोल्ने काममा व्यस्त रहन्छन् । सोही वडाका अर्का कुम्हार निर्मलका अनुसार, “छठ र दीपावली आउँछ भने हाम्रो घरमा पनि पर्व आउँछ । बिहानदेखि बेलुकीसम्म काम गर्छौं, नत्र माग पुर्याउन सकिँदैन ।” निर्मलले दैनिक झण्डै एक हजार माटाका दियो बनाउँछन्, जुन नेपालगञ्जलगायत आसपासका बजारमा नै खपत हुन्छ ।

परिश्रम बढी, आम्दानी कम
कुम्हार समुदायका अनुसार दीपावली र छठका बेला उनीहरूको व्यवसायले नयाँ जोश पाउँछ, तर मेहनतअनुसार आम्दानी भने कमै हुन्छ । व्यापारीलाई सस्तोमा सामग्री दिनुपर्ने र बजारमा प्रत्यक्ष बिक्रीको व्यवस्था नहुँदा आम्दानी घटेको उनीहरूको गुनासो छ ।

परम्परागत पेशामा चुनौती
प्लास्टिक, पितल र विद्युतीय सामग्री सहजै उपलब्ध भएपछि माटाका भाँडाको माग पहिले जस्तो छैन । “माटोका सामग्री बनाउन धेरै मेहनत गर्नुपर्छ, तर आम्दानी थोरै हुन्छ,” कुम्हारहरू भन्छन् । तर धार्मिक आस्थाले अझै पनि माटाका भाँडाको स्थान जोगाइरहेको छ । नेपालगञ्जका धर्मसंस्कृति जानकार विष्णु कुमालका अनुसार, “छठमा माटोको कलश र दियालो अनिवार्य हुन्छ । यसले पूजा पवित्र हुन्छ भन्ने विश्वास आज पनि ज्यूँदै छ ।”

माटोमै पहिचान
कुम्हार समुदायको जीवन अझै पनि माटो र परम्परासँग गाँसिएको छ । उनीहरू भन्छन् — “माटो मात्र आम्दानीको स्रोत होइन, यो हाम्रो पहिचान हो ।” स्रोत, साधन र सीपको संरक्षण भए यो पेशा भावी पुस्तामा हस्तान्तरण गर्न सजिलो हुने उनीहरूको अपेक्षा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button