आइजिपी खापुङद्वारा झापाका क्षतिग्रस्त प्रहरी कार्यालयको अवलोकन
झापा । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनमा क्षतिग्रस्त भएका झापाका प्रहरी कार्यालयहरूको अवलोकन गर्नुभएको छ ।

पहिरो प्रभावित इलामबाट फर्किने क्रममा उहाँले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट पूर्ण क्षतिग्रस्त बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र दमकको इलाका प्रहरी कार्यालयको अवलोकन गर्नुभएको हो ।
जेनजी आन्दोलनका क्रममा घुसपैठ गरेको अराजक समूहले प्रहरी कार्यालयहरू आगजनी गरेको थियो । समुदाय स्तरबाट पुनर्निर्मित बिर्तामोडका कार्यालयहरूको अवलोकन गर्दै प्रहरी महानिरीक्षक खापुङले यहाँका सचेत नागरिकको योगदानको प्रशंसा गर्नुभयो । अवलोकनका क्रममा खापुङले मातहतका प्रहरीलाई उच्च मनोबल बनाएर काम गर्न निर्देशन दिनुभयो । सो क्रममा कार्यालय पुनर्निर्माणमा अगुवाइ गर्ने पदम श्रेष्ठले समुदाय स्तरबाट भएको कामका बारेमा जानकारी गराउनुभएको थियो ।
अवलोकनका क्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो । इप्रका दमकको अवलोकनपश्चात् प्रहरी महानिरीक्षक खापुङ तेह्रथुम जिल्लातर्फ प्रस्थान गर्नुभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्