बाँकेमा जुवा, यौन धन्दा र अपराध नियन्त्रणमा प्रहरीको कडा अभियान
बाँके । बाँकेमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमान्ड सम्हालेसँगै जुवा, यौन धन्दा र आपराधिक सञ्जालविरुद्ध कठोर कारबाही सुरु गरेका छन् ।
साउन २३ गते नेपालगञ्जस्थित होटल मौरीमा जुवा खेलिरहेका १४ जनालाई पक्राउ गरिएको दुई दिनपछि प्रहरीले थप ठूलो अपरेसन सञ्चालन गर्दै आपराधिक गतिविधिमा संलग्न समूहहरूलाई कडा सन्देश दिएको हो ।
एसपी जिसीको निर्देशनमा नेपालगञ्जका मिलन कटेज, रिभर साइड होटल र भेरी कर्णाली होटलमा एकैपटक विशेष अपरेसन चलाइएको थियो । सो क्रममा ३१ महिला र १४ पुरुष गरी ४५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार पक्राउ परेकामध्ये धेरैजसो भारतीय नागरिक रहेका छन् र उनीहरूले नेपालगञ्जलाई सीमावर्ती ‘हब’ का रूपमा प्रयोग गर्दै आएको आशंका गरिएको छ । प्रहरीले घटनास्थलबाट विभिन्न प्रमाण सङ्कलन गरी अनुसन्धान अघि बढाइरहेको बताएको छ ।
प्रहरीको यो अभियानले लामो समयदेखि मौलाइरहेका जुवा, यौन धन्दा र अवैध कारोबार नियन्त्रणमा ठोस कदम चालेको स्थानीयबासीहरूले बताएका छन् । एक स्थानीयले भने, “पहिले यस्ता काम खुलेआम चल्थे, अहिले प्रहरीले देखाएको दृढताले अपराधीहरू त्रसित भएका छन्।”
एसपी जिसीको सक्रियता र दृढ नेतृत्वका कारण बाँकेमा सुरक्षाप्रतिको जनविश्वास बढेको जनाइएको छ । स्थानीयबासीहरूले यो अभियान निरन्तर चलिरहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्