तोकिएको मूल्यभन्दा कममा धान खरिद, किसानको आपत्ति
नवलपरासी । नवलपरासीका किसानहरूले तोकिएको न्यूनतम समर्थन मूल्यभन्दा कममा व्यापारीहरूले धान खरिद गरेको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले भारतीय धान आयात रोक्न र सरकारद्वारा तोकिएको मूल्यमा धान खरिद सुनिश्चित गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।
किसानहरूले धान नेपालकै मुख्य बाली भएकाले यसको मूल्य गिरावटले कृषि आत्मनिर्भरता र किसानको जीवनमा गम्भीर असर पारेको बताएका छन्। ज्ञापनपत्रमा भनिएको छ, “भारतबाट अनियमित रूपमा भित्रिने धानका कारण स्थानीय उत्पादनको मूल्य खस्किँदै गएको छ र उत्पादन लागत समेत उठ्न नसकेको अवस्था आएको छ।”
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ र मध्यम धानको मूल्य ३ हजार ६२६ रुपैयाँ तोकेको भए पनि व्यापारीहरूले त्यसभन्दा कम मूल्यमा खरिद गरिरहेको किसानहरूको गुनासो छ। उनीहरूले पाँच दिनभित्र उचित मूल्यमा खरिद–बिक्रीको वातावरण बनाउन माग गरेका छन्।
सरावल गाउँपालिका अध्यक्ष सुखाडी चौधरी, बर्दघाट नगरका वडाध्यक्षहरू ध्रुव थारु, फरेन्द्र चौधरी, नरबहादुर चौधरी र रोहित थारुलगायतका जनप्रतिनिधि र किसान अगुवाहरूले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन्।
किसानहरूले उत्पादन लागत, लगानी र आत्मनिर्भरता जोगाउन सरकार गम्भीर हुनुपर्ने चेतावनी दिएका छन्। ज्ञापनपत्रमा भनिएको छ, “यदि सरकारले किसानको आवाजलाई बेवास्ता गर्यो भने हामी आन्दोलनमा उत्रिन बाध्य हुनेछौँ।”








प्रतिक्रिया राख्नुहोस्