७८ मध्ये ३२ जना बालबन्दी पक्राउ, ४६ अझै फरार
बाँके।गत भदौ २४ गते राति ‘जेनजी आन्दोलन’का क्रममा बाँकेको बैजनाथस्थित नौवस्ता बालसुधार गृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ भने ४६ जना अझै फरार रहेका छन्।
जेनजी आन्दोलनको दोस्रो दिन, भदौ २४ गते राति प्रहरीसँगको भिडन्तपछि ती बालबन्दीहरू भागेका थिए। सो क्रममा प्रहरीले गोली प्रहार गर्दा अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय बिनेश घर्ती मगर, बाँकेका २० वर्षीय समिर थापा, दैलेखका २१ वर्षीय भुपेन्द्र खत्री र कैलालीका १९ वर्षीय जगत देउवाको मृत्यु भएको थियो। घटनामा घाइते भएका दुई जनालाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ।
नौवस्ता बालसुधार गृहका प्रमुख श्यामबहादुर रानाका अनुसार हालसम्म २९ जना बालबन्दीलाई पक्राउ गरी पुनः सुधार गृहमा ल्याइएको छ भने तीन जनालाई चितवनमा पक्राउ गरी ल्याउने तयारी भइरहेको छ। बाँकी ४६ जना अझै सम्पर्कविहीन रहेको र तिनीहरूको खोजी तीव्र रूपमा जारी रहेको बताउनुभयो।
रानाका अनुसार फरार बालबन्दीहरूलाई पक्राउ गर्न प्रहरीले नेपाल–भारतका नाकाहरूमा निगरानी कडा पारेको छ र पहाडी जिल्लासम्म खोजी सञ्जाल विस्तार गरिएको छ। उहाँले भन्नुभयो, “दसैंको समयमा उनीहरू घरतिर जाने सम्भावना रहेकाले ठेगानाका आधारमा पनि प्रहरी परिचालन गरिएको छ।”
जिल्ला प्रहरी कार्यालय बाँकेले पनि फरार बालबन्दीहरूको खोजीका लागि थप प्रहरी परिचालन गरिएको जनाएको छ।
यसअघि बालसुधार गृह र कारागार प्रशासनले फरार भएका सबै बालबन्दी र कैदीबन्दीहरूलाई असोज २० गतेभित्र फर्किन चेतावनी दिँदै समयसीमा निर्धारण गरेको थियो। तर समयसीमा सकिन लाग्दा पनि उनीहरू नफर्किएको नौवस्ता बालसुधार गृहले जनाएको छ। फर्किन अस्वीकार गर्नेहरूलाई कारागार ऐनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
जेनजी आन्दोलनको दोस्रो दिन नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भागेको समाचार सार्वजनिक भएपछि नौवस्ता बालसुधार गृहमा पनि आन्दोलन चर्किएको थियो। लामिछानेको घटनापछि ‘हामीलाई पनि छाड्नुपर्छ’ भन्दै बालबन्दीहरूले आन्दोलन सुरु गरेपछि सो रात ७८ जना भागेका थिए। भाग्ने क्रममा केहीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिन सफल भए पनि पाँच जनाको मृत्यु भएको र ४६ जना अझै बेपत्ता रहेको पुष्टि गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्