जलेको प्रहरी चौकी प्रवासी नेपालीको सहयोगमा मर्मत गरी सञ्चालन
बाँके । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते आगलागीबाट क्षति पुगेको बाँकेको नेपाल–भारत सीमा नजिकैको इलाका प्रहरी कार्यालय जैसपुर चौकी पुनः मर्मत गरि सञ्चालन गरिएको छ ।

पत्रकार आशिष मल्ल ठकुरीको पहलमा अमेरिकामा बसोबास गर्ने नेपालीहरूले करिब रु. २ लाख १६ हजार सङ्कलन गरी भवनमा रङ्ग–रोगन तथा आवश्यक सामग्री खरिद गरिएको हो ।
मल्ल ठकुरीले अमेरिकामा रहेका २१ जना नेपालीको योगदानमा सो रकम सङ्कलन भएको जनाउँदै दशैँ–तिहार जस्ता चाड पर्व नजिकिँदै गर्दा सुरक्षामा देखिएको चुनौतीलाई सहज बनाउन यो पहल गरिएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अङ्गुर जिसीले सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गर्दै प्रहरी सङ्गठनले पनि आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आन्दोलनका क्रममा सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्नेहरूमध्ये हालसम्म ४ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको बाँके प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्