तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगञ्ज । देशकै महत्वपूर्ण शक्तिपिठ मध्येको एक वीरगन्जको ऐतिहासिक गहवामाई मन्दिरमा आज धूमधामका साथ फूलपाती भित्र्याइएको छ । 

वीरगञ्जको बिर्तास्थित निशानी माई भगवती मन्दिरबाट बिहान शुभ साइतमा निकालिएको फूलपातीलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित हजारौँ दर्शनार्थीहरुको उपस्थितिमा बाजागाजासहित गहवामाई मदिरमा डोली भित्र्याएको हो । 

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह सँगै पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी सहित गहवामाई दुर्गा पूजा समितिले विधिपूर्वक पूजाअर्चना गरी गहवामाई मन्दिरमा फूलपाती भित्र्याएको थियो । सो अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको एक टोलीले सलामी अर्पण गरेको थियो । 

वीरगन्जको बिर्ता स्थित मालपोत कार्यालयमा रहेको निशानी माई भगवती मन्दिरबाट निकालिएको फूलपाती हर्न सीमावर्ती भारतीय शहर रक्सौल, छिमेकी जिल्ला बारा, रौतहट र पर्साका ग्रामीण क्षेत्रबाट समेत हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको ठूलो भीड गहवामाई मन्दिर परिसरमा लागेको थियो । 

यसैबिच प्रत्येक वर्षझैँ यस वर्ष पनि वीरगञ्जस्थित राधे माई भगवती मन्दिरमा समेत फूलपाती भित्र्याइएको छ ।

पूर्व मन्त्री प्रदीप यादवले धार्मिक विधिपूर्वक शुभ साइतमा फूलपाती भित्र्याउनुभएको हो । सो अवसरमा हजारौँ श्रद्धालुहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button