तपाईँ सुन्दै हुनुहुन्छः

गोरखामा स्क्रब टाईफसका सङ्क्रमितको सङ्ख्या १५० पुग्यो

गोरखा । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार डेंगु र स्क्रब टाईफसबाट साउन यता २१४ जनामा सङ्क्रमण देखिएकोमा १५० जना स्क्रब टाईफसका सङ्क्रमित फेला परेको छ  । 

११ स्थानीय तह रहेको गोरखामा ६ स्थानीय तहमा दुवै सङ्क्रमित देखिएको कार्यालयका ल्याब टेक्निसियन निरीक्षक नारायणबाबु अर्यालले जानकारी दिनुभयो । अर्यालका अनुसार साउन यता ६४ जनामा डेंगुको सङ्क्रमण देखिएको छ ।

सङ्क्रमण देखिएको मध्य सबैभन्दा बढी गोरखा नगरपालिकामा रहेको छ । गोरखा नगरपालिकामा स्क्रब टाईफसका ५९ जना सङ्क्रमित फेला परेको छ भने डेंगुका १५ जना सङ्क्रमित फेला परेको छ ।

उता आरुघाट गाउँपालिका १५–१५ जना डेंगु र स्क्रब टाईफसका बिरामी फेला परेको छ भने भिमसेन थापा गाउँपालिकामा १६ जना डेंगु र ४२ जना स्क्रब टाईफसका सङ्क्रमित फेला परेको पनि निरीक्षक अर्यालले जानकारी दिनुभयो । 

कार्यालयका तथ्याङ्क अनुसार पालुङटार नगरपालिकामा ८ जना डेंगु र ३० जना स्क्रब टाईफस सङ्क्रमित देखिएका छन् भने सहिद लखन गाउँपालिकामा ७ जना डेंगु र ३ जना स्क्रब टाईफस तथा अजिरकोट गाउँपालिकामा ३ जना डेंगु र १ जना स्क्रब टाईफसका सङ्क्रमित फेला परेको कार्यालयले जनाएको छ ।

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ भने स्क्रब टाइफस माइट जातको किर्नाको टोकाइबाट सर्ने गर्दछ ।

यो सङ्क्रमण कार्तिकको अन्तिमसम्मै रहने भएकोले सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button