दशैँमा मासुको उच्च मागसँगै नेपालगञ्जमा अवैध कुखुराको तस्करी, बर्डफ्लुको जोखिम बढ्दो
बाँके । दशैँ नजिकिँदै जाँदा नेपालगञ्ज क्षेत्रमा मासुको माग उच्च बनेको छ। सोही अवसरमा सीमापारिबाट कुखुराको अवैध आयात तीव्र रूपमा बढिरहेको देखिएको छ।
हालै सम्पन्न जेनजी आन्दोलनका कारण सुरक्षाकर्मीहरू सुरक्षा व्यवस्थापनमा व्यस्त भइरहेका बेला भारतको रुपैडिहा नाकाबाट तस्करी झनै बढेको पाइएको हो। भारतका विभिन्न सहरमा बर्डफ्लु देखिएपछि नेपाल सरकारले भारतबाट जीवित कुखुरा तथा कुखुराको मासु आयातमा प्रतिबन्ध लगाएको छ। तर, खुला सीमाको फाइदा उठाउँदै तस्करहरूले साइकल, मोटरसाइकल र साना गाडीहरू प्रयोग गरी दैनिक रूपमा कुखुरा भित्र्याइरहेका छन्।
यसले बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा परेको स्थानीय पशु स्वास्थ्य विज्ञहरूको चिन्ता छ। स्थानीयवासीका अनुसार तस्करी प्रायः रातिको समयमा वा बिहान सबेरै हुने गर्छ।
सुरक्षा अवस्था क्रमशः सामान्य हुँदै गएपछि प्रहरीले नाकामा निगरानी कडाइ गर्न थालेको छ। यसै क्रममा, प्रहरीले अवैध कुखुरासहितका तस्करलाई नियन्त्रणमा लिन थालेको छ।
यस्तै, आइतबार नेपालगञ्ज उपमहानगरपालिका–१५, जमुनाह क्षेत्रबाट प्रहरीले करिब २५ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध ब्रोइलर कुखुरा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक पातलीका अनुसार, जमुनाह निवासी गणेश कबडिया साइकलमार्फत ल्याउँदै गरेका ४० वटा ब्रोइलर कुखुरा नियन्त्रणमा लिइएका हुन्। बरामद कुखुराको अनुमानित मूल्य २५ हजार ६०० रुपैयाँ रहेको छ।
प्रहरीका अनुसार कबडियालाई साइकलसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्ज पठाइएको छ। प्रहरी प्रवक्ता पातलीले नाकामा निगरानी कडा पारिएको जानकारी दिँदै अवैध आयात नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो।
प्रतिक्रिया राख्नुहोस्