अर्थ मन्त्रालयको विशेष निर्देशनमा वीरगञ्ज भन्सार
टीकाको दिनमा समेत पूर्णरुपमा सञ्चालनमा आउने
वीरगञ्ज । यस वर्षको दशैं पर्वमा दिइएको सार्वजनिक बिदामा समेत वीरगञ्ज भन्सार कार्यालयले निरन्तर सेवा सञ्चालन गर्ने भएको छ ।
सामान्यतया दसैँको समयमा बन्द हुने भन्सार कार्यालय यसपालि भने टीकाको दिनसमेत खुला रहने वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक बिष्णु प्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

भन्सार प्रमुख विष्णु प्रसाद ज्ञवालीका अनुसार, अर्थ मन्त्रालयको विशेष निर्देशनमा यो निर्णय लिइएको हो । पछिल्लो समय देशभर फैलिएको “जेनजी आन्दोलन” पछि अर्थतन्त्रमा देखिएको असरलाई न्यूनीकरण गर्न र आयात–निर्यात प्रक्रिया सहज बनाउन यो कदम चालिएको बुझिएको छ ।
दशैं जस्ता चाडपर्वमा भन्सार बन्द हुँदा विदेशबाट आएका खाद्य सामग्री, उपभोग्य वस्तु तथा दैनिक आवश्यक सामग्रीहरू भन्सारमै थन्किने र समयमै निकासी नहुँदा नोक्सानी हुने गरेको विगतको अनुभवलाई ध्यानमा राख्दै, यसपालि भन्सार सेवा खुला राखिने निर्णय गरिएको प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताउनुभयो ।
सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न तथा चाडपर्वको समयमा बजारमा वस्तुको आपूर्ति कायम राख्न यो निर्णय गरिएको र यसले आयातकर्ता तथा व्यवसायीहरूलाई राहत दिन प्रमुख भन्सार प्रशासक ज्ञवालीले जानकारी दिनुभयो ।

अर्थ मन्त्रालयका अनुसार, भन्सार सेवा खुला राखिएसँगै दसैँको समयसमेत मालवस्तुको निकासी तथा पैठारी सहज हुने, बजारमा वस्तु अभाव नहुने, तथा खाद्यान्न र आवश्यक वस्तुहरू कुहिने जोखिम हट्नेछ ।
अर्थ मन्त्रालयको विशेष निर्देशनले खाद्य व्यवसाय, उपभोग्य वस्तु आयातकर्ता र खुद्रा व्यापारीहरूलाई लाभ पुग्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्