तपाईँ सुन्दै हुनुहुन्छः

नारायणगढ– मुग्लिन सडकमा रातको समयमा यात्रा नगर्न सुझाव

 चितवन । सडक डिभिजन भरतपुरले केही दिनयता निरन्तर वर्षा भएको र पटक पटक नारायणगढ मुग्लिन सडकमा गएको पहिरोको कारण रातीको समयमा यात्रा नगर्न सुझाव दिएको छ । 

दसैँमा घर फर्किने यात्रुलाई लक्षित गर्दै सडक डिभिजन भरतपुरले सकभर रातको समयमा यात्रा नगर्न अनुरोध गरेको हो  । 

कार्यालयका अनुसार सडकमा पहिरो रोकथामको काम तत्काल नहुने भएको छ । नारायणगढ–मुग्लिन सडकको तुइन खोलानजिक पहिरोको उच्च जोखिम छ । यसबाहेक, एक दर्जनभन्दा बढी स्थानमा पनि पहिरोको जोखिम रहेको छ ।

सडक विस्तार गरिएपछि तुइन खोलाको पहाडी भूगोल कमजोर बनेको छ । यहाँको करिब ३० मिटर लम्बाइ र करिब १५० मिटर उचाइको पहाड कमजोर भएको सडक डिभिजन भरतपुरका सूचना अधिकारी अर्जुन घिमिरे बताउनुहुन्छ । उहाँका अनुसार तुइन खोलालगायत जोखिमयुक्त स्थानमा पहिरोको रोकथाम गर्ने कार्य गरिँदै छ । तुइन खोला, नाम्सी खोला र काली खोलालगायतका स्थानमा पहिरो रोकथामका लागि आगामी मङ्सिरमा ठेक्का आह्वान हुने उहाँले जानकारी दिनुभयो ।

विभागबाट छिटो रोकथामको काम गर्ने निर्णय भएर आएमा आकस्मिक खरिद प्रक्रियाबाट पनि गर्न सकिने उहाँले बताउनुभयो  । हाललाई पहिरो खसिहालेमा पन्छाउनका लागि मेसिनहरू तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो  ।

“यो बर्खाको बेला सकेसम्म रातिको समयमा कसैले पनि यात्रा नगर्दा ठिक हुन्छ । राति पहिरो खसेको देखिँदैन र पन्छाउन पनि कठिन हुन्छ”, उहाँले भन्नुभयो, “यात्रुहरूले वैकल्पिक सडक प्रयोग गर्नु उत्तम हुन्छ ।”,  बर्खाको बेला खसेको पहिरो पन्छाउन बाहेक अरू उपाय नरहेको उहाँले बताउनुभयो  ।

सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले पानी परिरहे यसपालिको दसैँको यात्रा जोखिमपूर्ण हुने बताउनुभयो  । “यो बाटो पानी पर्ने बित्तिकै जोखिमपूर्ण हुने भयो, मङ्गलवार त एक जना यात्रुको मृत्यु नै भयो”, उहाँले भन्नुभयो “पहिरो रोकथामको काम गर्न विभागको टोलीले हेरेर गएको छ, यो वर्ष अलि बढी जोखिम भएको ठाउँमा रोकथामको काम हुन्छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button