आन्दोलनको त्रास: जब नर्सहरूले बन्द गरेनन् सेवाको ढोका
बाँके। जेन–जी आन्दोलन तीव्र बन्दै गएको बेला बाँकेको नरैनापुर गाउँपालिका कार्यालयमा गत भदौ २४ गते राति आन्दोलनकारीले आगजनी गरेपछि त्रास र असुरक्षाको छायाँमा डुब्यो ।
तर, नरैनापुर–१ कालाफाटा स्वास्थ्य चौकी भने फरक चित्र बोकेको थियो । आन्दोलन, धम्की र भयबीच पनि नर्स सामना क्षेत्रीले चौकीको ढोका बन्द हुन दिइनन् । दिनभर बिरामीको चेकजाँच, औषधि वितरण र आपतकालीन उपचार निरन्तर चलिरह्यो । “रोगले प्रतिक्षा गर्दैन,” नर्स क्षेत्री भन्छिन्, “त्यसैले म चौकी छोडेर गएनँ ।”
त्यसैगरी, भदौ २५ गते गाउँपालिकाको वडा नं ६ को कार्यालयमा पनि आगजनी हुँदा स्वास्थ्यकर्मी मुना नेपालीले उपचार सेवा रोकिन दिइनन् । उनले आन्दोलनको तातो वातावरण, सरकारी भवन जलेको पीडा र असुरक्षाबीच पनि बिरामीलाई प्राथमिकता दिइन् ।
स्थानियवासीका अनुसार विद्यालय र कार्यालयहरू बन्द भए, कार्यालय खरानीमा परिणत भए, तर स्वास्थ्य चौकी भने खुला रह्यो । नर्समैडमहरूले ढोका बन्द नगरेकाले आफूहरू अझै सुरक्षित र आशावादी भएको स्थानीयले बताए ।
नरैनापुरको यो अनुभव कठिन परिस्थितिमा पनि कर्तव्य र मानवीयता निर्वाह गर्ने स्वास्थ्यकर्मीको प्रेरणादायी उदाहरण बनेको छ ।








प्रतिक्रिया राख्नुहोस्