तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश सभाको भवन तोडफोड र आगजनी, करिब ३० करोड बराबरको क्षति

हेटौँडा। जेनजि पुस्ताको आन्दोलनका क्रममा बागमती प्रदेश सभा सचिवालयमा भएको तोडफोड र आगजनीका कारण नयाँ र पुराना दुवै भवन ध्वस्त बनेका छन् ।

गत असोज २४ गतेको आन्दोलनमा प्रदेश सभाको सम्पूर्ण संरचना जलेर नष्ट भएपछि अहिले कर्मचारीहरूले क्यान्टिनमार्फत आवश्यक कामकाज सञ्चालन गरिरहेका छन् ।

प्रदेश सभाका सचिव पूर्णबहादुर दर्जीका अनुसार तोडफोडका क्रममा कुर्सीसमेत प्रयोग गर्न नसक्ने गरी ध्वस्त भएको छ । “तत्कालीन कामहरू गर्नुपर्ने भएकाले क्यान्टिनबाटै सेवा दिइरहेका छौँ,” दर्जीले बताउनुभयो ।

यसैबीच प्रदेश प्रमुख कार्यालयका कानुन अधिकृत तथा प्रवक्ता मनोजकुमार गुप्ताले आन्दोलनकारीहरूले करिब १२ करोड २९ लाख लागतमा बनेको नवनिर्मित भवन समेत जलाएर नष्ट पारेको जानकारी दिनुभयो । गत साउन २७ गते मात्र औपचारिक रूपमा उद्घाटन गरिएको भवनमा जम्मा चार वटा बैठक मात्र बसेको अवस्थामा पूर्ण रूपमा क्षति पुगेको उहाँले बताउनुभयो ।

झन्डै साढे चार वर्ष लगाएर बनेको उक्त भवनसहित पुरानो भवन पनि जलाइएपछि करिब ३० करोड बराबरको क्षति पुगेको प्रदेश सभा सचिवालयले जनाएको छ । हाल तत्काल प्रदेश सभाको बैठक सञ्चालन गर्ने अवस्था नरहेको प्रवक्ता गुप्ताले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button