आन्तरिक राजस्व कार्यालयद्वारा करदाता सेवा सुरु
देवदह (रुपन्देही)। रुपन्देहीस्थित आन्तरिक राजस्व कार्यालयले आफ्नो पार्किङ स्थलबाट सेवा प्रवाह सुरुआत गरेको छ । भदौ २४ गते भएको तोडफोड र आगजनीबाट कार्यालयमा क्षति पुगेको थियो ।

प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले कार्यालयबाट प्रवाह गरिने सेवा कार्यालयको पार्किङमा टेन्ट राखेर आइतबारदेखि थालनी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले अत्यावश्यक सेवा सुरु गरेका छौँ, धेरै सेवा अनलाइन माध्यमबाट प्रदान गरिरहेका छौँ, पार्किङमा ल्यापटप र प्रिन्टर राखेर हाम्रा करदातालाई दिनुपर्ने सेवा दिन सुरु गरेका छौँ ।”
इन्टरनेट र बिजुली व्यवस्थापन गरेर न्यूनतम साधन स्रोत र उपलब्ध कर्मचारीबाट सेवा प्रवाह भइरहेको उहाँले बताउनुभयो । सम्पूर्ण सेवा सञ्चालन गर्न सम्भव नभएकाले केही अत्यावश्यक सेवा मात्र प्रदान गरिएको उहाँको भनाइ छ ।
उहाँका अनुसार आगजनी र तोडफोडबाट कार्यालयको मुख्य भवनमा क्षति पुगेको छ । सात वटा कोठा पूर्ण रूपमा जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै कोठाभित्र रहेका इलेक्ट्रोनिक सामान, कम्प्युटर, ल्यापटप, प्रिन्टर, टेबल, कुर्सी, र्याक, सोफा, दराजलगायत थुप्रै सामान जलेका प्रमुख कर अधिकृत पोख्रेलले बताउनुभयो । “केही करदाताका फाइल पनि त्यसमा परेका छन्”, उहाँले भन्नुभयो । कार्यालयमा रहेका केही सवारीसाधन र गार्डरुम पनि जलेको उहाँले जानकारी दिनुभयो ।
सेवाग्राही सरोज साहले भवन क्षतिग्रस्त हुँदा पनि आन्तरिक राजस्व कार्यालयले सेवा प्रदान गरिरहेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले कार्यालयले प्रदान गरिरहेको सेवाबाट सेवाग्राही सन्तुष्ट नै रहेको बताउनुभयो ।
रुपन्देहीमा भदौ २३ गतेदेखि जारी भएको निषेधाज्ञा र कफ्र्यू पनि हटाइएको छ । यही भदौ २८ गते शनिवारदेखि निषेधाज्ञा र कफ्र्यू हटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेले जानकारी दिनुभयो । जिल्लाको समग्र शान्ति सुरक्षाको विश्लेषण गर्दा सामान्य रहेको र जनजीवन पनि सामान्यीकरणतर्फ उन्मुख भएको उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयले पारस्परिक सद्भाव कायम गर्न, सार्वजनिक सेवा प्रवाह गर्न, शिक्षण संस्था सञ्चालन गर्न, आवागमन सञ्चालन गर्न, पूर्ववत् क्रियाकलाप नियमित गर्न र बजार व्यवस्थालाई चलायमान बनाउन सरोकारवाला सबै पक्षसँग आवश्यक समन्वय र सहजीकरणको लागि अनुरोध गरेको छ ।रासस
प्रतिक्रिया राख्नुहोस्