बझाङमा सुपथ मूल्य पसल सञ्चालन, चामल सहुलियत मूल्यमा बिक्री सुरु

बझाङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय बझाङले चाडपर्वलाई मध्यनजर गर्दै बझाङमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ ।
आजबाट सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको हो । बझाङ शाखाले अरुवा मोटो र स्टिम जिरा मसिनो चामल सहुलियत मूल्यमा बिक्री गर्ने गरि पसल खोलिएको शाखा प्रमुख शिवराज पाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज देखि खाद्यको डिपो भिडमुनिबाट सुपथ मूल्यका पसल सञ्चालन गरेर सहुलियतमा चामल बिक्री गर्न थालिएको छ ।’
यो अवसरमा अरुवा मोटा चामल प्रतिकेजी ६२ रुपैयाँमा ५ रुपैयाँ सहुलियत छुट लिएर ५७ रुपैयाँमा बिक्री गरेको शाखा प्रमुख पाध्यायले बताउनुभयो । स्टिम जिरा मसिनो चामल प्रतिकेजी ९० रुपैयाँ सहुलियत छुट लिएर ८५ गरी प्रतिकेजी ५÷५ रुपैयाँ सहुलियत छुट मूल्यमा बिक्री थालेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘सुपथ मूल्यको पसल सञ्चालनमा आएपछि उपभोक्तालाई निकै सहज भएको छ । ३० भदौ देखि १० कार्त्तिकसम्म सहुलियत छुट मूल्यमा बिक्री गर्न ७ सय क्विन्टल चामल छुट्याएको छ । पहिलो दिन भदौ ३० गते अरुवा मोटो चामल ३० कट्टा, स्टिम जिरा मसिनो चामल २५ कट्टा बिक्री भएको छ ।’
चामल बिहान १० देखि बेलुकी ५ बजेसम्म चामल बिक्री हुने भएको छ । यसअघि नै सञ्चालनमा रहेका बिक्री काउन्टरमै सुपथ मूल्यका पसल सञ्चालन गरिएको हो । हाल जिल्लामा ३१० क्विन्टल चामल स्टक रहेको छ । छिट्टै तेल र चिनी पनि सुपथ मूल्य पसलमार्फत वितरण गर्ने तयारी भइरहेको पाध्यायले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्