तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जको राजमार्ग क्षेत्र र कारागार ईलाका दङ्गाग्रस्त क्षेत्र घोषणा 

वीरगञ्ज । वीरगन्ज सहित पर्सा जिल्लाको जनजीवन सामान्य बनाउँदै जिल्लालाई थप सुरक्षित बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्साले आज वीरगञ्ज महानगरपालिकाका केही स्थानहरूलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको छ । 

जिल्ला सुरक्षा समिति पर्साको आज सम्पन्न बैठकले वीरगञ्जको घण्टाघर चोकदेखि गण्डक चोकसम्मको राजमार्ग क्षेत्र र वीरगन्ज कारागार क्षेत्रलाई दङ्गाग्रस्त घोषणा गरेको छ ।

पछिल्लो समय वीरगन्जसहित देशभर भएको जेन–जी आन्दोलन र प्रदर्शन पश्चात् जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (ख) को प्रावधान प्रयोग गरी वीरगञ्जको घण्टाघर चौकदेखि गण्डक चौकसम्मको राजमार्ग र वीरगञ्ज कारागार कार्यालयको कम्पाउन्ड क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीले जानकारी दिनुभयो । अर्को आदेश जारी नभएसम्मका लागि दुवै क्षेत्रलाई दङ्गाग्रस्त घोषणा गरिएको उहाँले बताउनुभयो । 

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार, दङ्गाग्रस्त क्षेत्र घोषित इलाकामा बिहान ११ बजेदेखि साँझ ९ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम ५ जना वा सोभन्दा बढी व्यक्तिहरूलाई जम्मा हुन, कुनै भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पनि निषेध गरिएको छ । 

त्यस्तै, सोही ऐनको दफा ६ (ख) को खण्ड (ज) बमोजिम आजदेखि अर्को आदेश नभएसम्म प्रत्येक दिन साँझ ९ बजेदेखि बिहान ५ बजेसम्मका लागि माथि तोकिएको क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरिएको छ । 

कर्फ्यु अवधिमा अत्यावश्यक सेवाहरू एम्बुलेन्स, दमकल, शव वाहन, फोहोर बोक्ने सवारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी, नेपाल विद्युत् प्राधिकरण, खानेपानी, दूध बोक्ने सवारी, इन्धन ग्यास ट्याङ्कर र हवाई टिकटका आधारमा हवाई यात्रुहरूको आवागमनलाई सहज बनाउन सुरक्षाकर्मीले सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button