तपाईँ सुन्दै हुनुहुन्छः

जेनजी आन्दोलनमा ज्यान गुमाएका सुलभको अन्त्यष्टि

बाँके।जेनजी आन्दोलनका क्रममा काठमाडौंमा ज्यान गुमाएका नेपालगञ्ज–१ का सुलभराज श्रेष्ठको शुक्रबार राप्ती नदीको सिधानिया घाटमा अन्त्येष्टि गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि शव नेपालगञ्ज ल्याइएपछि नगर परिक्रमा गराउँदै अन्तिम श्रद्धाञ्जली दिइएको थियो।

श्रेष्ठको शव चार्टर्ड जहाजबाट नेपालगञ्ज ल्याइएको हो। शवयात्रामा हजारौँको उपस्थिति थियो—फूलमालासहितको विदाई, रुँदैगएको सहर, र शोकाकुल परिवार। बुवा नरेन्द्र श्रेष्ठको हातबाट मुखाग्नि दिइएको थियो। घरदेखि घाटसम्म भीडले देखाएको पीडाले सिंगो समाज शोकमा डुबेको स्पष्ट देखिन्थ्यो।

श्रेष्ठसँगै मृत्यु भएका १९ वर्षीय आयुष थापा मगरको शव भने भेरी अस्पतालमा राखिएको छ। उनको अन्त्येष्टि शनिबार गरिने परिवारले जनाएको छ।

सिभिल इन्जिनियरिङ अध्ययनरत २३ वर्षीय सुलभराज श्रेष्ठ र फिनल्यान्ड जाने तयारीमा रहेका आयुष थापा दुबैको असामयिक निधनले वडालाई मात्र होइन, सिंगो नेपालगञ्जलाई स्तब्ध बनाएको छ। वडा अध्यक्ष प्रमोद रिजालले भने, “वडाका दुई होनहार युवालाई गुमाउनु हाम्रो लागि मात्र होइन, सिंगो समाजको ठूलो क्षति हो।”

गत भदौ २३ गते काठमाडौंमा भएको जेनजी आन्दोलनको क्रममा प्रहरीको गोली लागी उनीहरू दुवैको निधन भएको थियो।
“पाँच दिनदेखि शव पर्खिरहेको परिवारको आँखामा जुन पीडा थियो, त्यो शब्दमा बयान गर्न सकिँदैन,” एक जना सहभागीले भने। “सपना बोकेका छोराहरू आन्दोलनको बलिदानी बन्नु, हामी सबैका लागि गहिरो प्रश्न बनिरहेको छ।”

उक्त आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरूको संख्या अहिले ५१ पुगेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button