इलाममा स्थानीय तहहरूको उत्कृष्ट अभ्यासबारे दुई दिने अनुभव आदान–प्रदान
इलाम । जिल्लामा स्थानीय तहहरूको उत्कृष्ट अभ्यासबारे अनुभव आदान–प्रदान गर्ने उद्देश्यले इलाममा दुई दिने कार्यक्रम आइतबारदेखि सुरु भएको छ।
जिल्ला समन्वय समितिको कार्यालय, इलामले आयोजना गरेको कार्यक्रममा जिल्लाभरिका जनप्रतिनिधि, प्रशासनिक अधिकारी, सुरक्षा निकायका प्रतिनिधि र विभिन्न सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको छ।
कार्यक्रममा जिल्लाभरिका विभिन्न पालिकाका प्रशासनिक अधिकृतहरूले आफ्नो–आफ्नो पालिकाको एक वर्षभित्रको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रस्तुत गरिएका प्रतिवेदनमार्फत आधारभूत सेवा, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा भएका उपलब्धि र चुनौतीबारे जानकारी गराइएको थियो। प्रतिवेदन प्रस्तुत भएपछि सहभागीबीच आपसी छलफलसमेत गरिएको थियो।
सहभागीहरूले अनुभव आदान–प्रदानमार्फत आगामी दिनमा विकासका काम अझ प्रभावकारी बनाउन सकिने धारणा राखेका थिए।
दुई दिनसम्म चल्ने यस कार्यक्रममा सोमबार विभिन्न सत्रमार्फत छलफल, अनुभव आदान–प्रदान र सामूहिक निष्कर्ष तयार पारिने जि.स.स प्रमुख जयप्रकाश राईले जानकारी दिनुभयो । राईका अनुसार कार्यक्रमले जिल्लाभरका स्थानीय तहहरूबिच सहकार्य र आपसी समन्वयलाई अझ मजबुत बनाउन मद्दत गर्नेछ।








प्रतिक्रिया राख्नुहोस्