तपाईँ सुन्दै हुनुहुन्छः

तीजले सामाजिक समरसता कायम गर्छः उपराष्ट्रपति

काठमाडौँ।उपराष्ट्रपति रामसहायप्रसाद यादवले तीज पर्वले पारिवारिक सम्बन्धलाई बलियो बनाउँदै सांस्कृतिक पहिचानलाई जोगाउन र सामाजिक समरसता कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

हरितालिका तीज, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि आज शुभकामना व्यक्त गर्दै उहाँले भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व धार्मिक आस्था, सांस्कृतिक गौरव र पारिवारिक प्रेमको अनुपम प्रतीक भएको बताउनुभयो ।

उहाँले भन्नुभएको छ, “प्रकृतिको हरियालीले सिँगारिएको मौसममा मनाइने यो पर्व उत्सव, उमङ्ग, उल्लास र आत्मीय मिलनको सन्देश बोकेर आउँछ, नेपाली समाजको बहुरङ्गी संस्कृति र विविध परम्पराबीच मनाइने यो पर्वले हामीलाई एकता, सहिष्णुता र आपसी सद्भावको मार्गमा अग्रसर हुन सघाउँदछ ।”

पारिवारिक समर्पणको प्रतीक यो पर्वमा विवाहित महिलाहरूले पतिको दीर्घायु र समृद्धिको कामना गर्दै व्रत बस्ने परम्परा छ भने कुमारी कन्याहरूले भगवान् शिवजस्तो योग्य वरको कामना गर्दै मनाउने चलन र धार्मिक मान्यता रहिआएको छ ।

सामाजिक एकता र मेलमिलापको सन्देश बोकेको तीज पर्वले विभिन्न समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने अवसर प्रदान गर्ने र टाढा पुगेका छोरीचेलीहरुलाई माइतीले बोलाउने मौलिक परम्पराले सामाजिक÷पारिवारिक आत्मीयता र सद्भाव कायम राख्न सघाउने उहाँको भनाइ छ । उहाँले सन्देशमा भन्नुभएको छ, “नेपालमा बसोबास गर्ने विभिन्न जाति, समुदायलेसमेत धुमधामका साथ मनाउने यो पर्वले सांस्कृतिक विविधता बोकेको छ, यो पर्वले नेपाली समाजको सांस्कृतिक विविधता र एकतालाई बलियो बनाउन सहयोग पुग्दछ ।”

महिलाहरूले परम्परागत गीत गाउँदै मनोरञ्जन गर्ने, दुःखसुखका भावना व्यक्त गर्ने माध्यमका रूपमा तीजलाई उपयोग गर्ने हाम्रो रैथाने प्रचलन हो । तीजको अघिल्लो दिन मीठा परिकार बनाई आफन्तसँग रमाइलो गर्दै ‘दर’ खाने चलनले सामाजिक सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्छ । उपराष्ट्रपति यादवले सबैले तीजको धार्मिक र सांस्कृतिक मूल्यलाई आत्मसात् गर्दै मर्यादित र मौलिक ढङ्गले मनाउनुपर्ने आवश्यक औँल्याउनु भएको छ ।

चौरचन (चकचना) पर्व र गणेश चौची शुभकामना

उपराष्ट्रपति रामसहायप्रसाद यादवले हाम्रा मौलिक संस्कृति, धार्मिक चेतना र सामाजिक एकता सुदृढ पार्ने माध्यम भएको बताउनुभएको छ । चौरचन (चकचना) पर्व र गणेश चौची, २०८२ को पावन अवसरमा आज शुभकामना दिँदै उहाँले नेपालमा मनाइने विभिन्न पर्वले धार्मिक र सांस्कृतिक अनुष्ठानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने धारणा राख्नुभयो ।

तराई–मधेसका केही जिल्लामा भदौ शुक्ल चौथीका दिन सूर्यास्तपछि हिन्दू व्रतालुहरुले मनाउने चौरचन (चकचना) पर्वमा धार्मिक विधिविधानअनुसार चन्द्र देवको पूजा उपासना गर्ने परम्परा छ । मधेसको सांस्कृतिक पहिचान बोकेको यो पर्वमा पुरी, खीर, दही, मौसमअनुसारका फलफूललगायतका मौलिक प्रसाद चन्द्रदेवलाई अर्पणपछि सम्पूर्ण परिवार सामूहिक रुपमा प्रसाद ग्रहण गर्ने चलन छ ।

प्रसादका रुपमा तयार पारिने भौलिक परिकारहरुले खानपान संरकृतिको विविधतालाई झल्काउँदछ । यो पर्व मनाउँदा मानसिक शान्ति, चन्द्र दीपको निवारण तथा पारिवारिक समृद्धि हुने जनविश्वास रहिआएको छ । यो पर्वले स्थानीय परम्परा र सामूहिक आस्थालाई बलियो बनाउन पनि सघाउँदछ ।

गणेश चौथी (गणेश चतुर्थी) को नामलेसमेत लोकप्रिय यी नोकपर्वमा भगवान् गणेशको आराधना गरिन्छ । जसले विघ्नहरण गरी जीवनमा शुभलाभ ल्याउने विश्वास गरिन्छ । यो पर्वमा भक्तजनले विघ्न नाश, कार्यसिद्धि र मानसिक शान्तिको कामना गर्दै गणेशको पूजा गर्छन् । गणेश चौथी केबल एक धार्मिक अनुष्ठान होइन, यो हाम्रो सामाजिक आत्मा, सांस्कृतिक पहिचान र सामूहिक चेतनाको उत्सव पनि हो ।

उपराष्ट्रपति यादवले भन्नुभएको छ, “यो पर्वले परिवार र समाजमा आपसी भाइचारा, अपनत्व र प्रेमभाव अभिवृद्धि गर्न सघाउँदछ, विविधतायुक्त सांस्कृतिक भएको नेपाली समाजमा मनाइने विभिन्न पर्व–त्योहार, संस्कार–संस्कृति एवं परम्परा रीतिरिवाजले एकता, सद्भाव र सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछन् ।”

उहाँले चाडपर्वका माध्यमबाट मत्तोमालिन्यता हटाउने, समभाव बढाउने र सद्भाव कायम गर्ने वातावरण सिर्जना हुने विश्वास पनि गर्नुभएको छ । “आधुनिक जीवनशैलीमा व्यस्त मानिसलाई धार्मिक ध्यान र आत्मचिन्तनको अवसर प्रदान गर्दछ, यी चाडपर्वले हामीबीच विद्यमान सबै प्रकारका आपसी मनोमालिन्यता हटाई प्रेम, समता र सहिष्णुताको भावना जागृत गर्न उत्प्रेरित गरून् भन्ने कामना गर्दै सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि पुनःहार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, उहाँले भन्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button