लामाचौर कप भलिबल सुरु
पोखरा । पोखरामा लामाचौर कप भलिबल प्रतियोगिता अन्तर्गत आइतबारदेखि खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा ६ टिम सहभागी छन् ।

लिग चरणको खेलमा आयोजक, जी.एम. समाज, ढुङ्गे देउराली क्लब र एपिएफ क्लब पोखरा विजयी हुँदै समान ३ अङ्क बटुलेका छन् । २ खेल खेलेका माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समिति र कृष्ण दल फूलबारी अङ्कविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।
समूह ‘ए’ मा रहेको आयोजकले आइतबार बिहान माछापुच्छ्रे गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट ३३–३१ मा जितेकोमा दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१८ मा आफ्नो पक्षमा पार्दै विजयी यात्रा सुरुवात गरेको हो ।
दोस्रो खेलमा जी.एम. समाजले कृष्ण दललाई २५–२०, २५–१८ र २५–२३ सेटमा हरायो । तेस्रो खेलमा ढुङ्गे देउरालीसँग कोर्ट उत्रिएको माछापुच्छ्रे गाउँपालिकाले पुनः हार व्यहोर्न पुग्यो । आइतबारकै चौथो खेलमा एपिएफ क्लबले कृष्ण दलको चुनौती सोझो सेटमै पन्छायो । एपिएफ २५–२०, २५–२१ र २५–१९ सेटमा विजयी भएको हो । समूह ‘ए’ मा आयोजकसहित ढुङ्गे देउराली छन् । समूह ‘बि’ मा जी.एम. समाज र एपिएफ छन् ।
सोमबार पनि लिग चरणकै खेल हुने रेफ्री विमल रानाले जानकारी दिनुभयो । पहिलो खेलमा आयोजकले ढुङ्गे देउराली र दोस्रो खेलमा जी.एम. समाजले एपिएफको सामना गर्नेछ ।
यसैबिच, अन्तर मावि छात्रा भलिबलमा टप्स र शान्त मावि फाइनल प्रवेश गरेका छन् । पहिलो सेमिफाइनलमा टप्सले सिर्जना माविलाई सोझो सेटमा तथा शान्तले पोखरा युनाइटेडलाई २–१ सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । उनीहरूबिच फाइनल भदौ १० गते हुनेछ ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा संस्थाको २९ औँ वार्षिक समारोह एवं तीज अवसरमा २७ औँ संस्करणको लामाचौर तीज महोत्सव आइतबारदेखि सुरु भयो । उक्त महोत्सवको उद्घाटन पोखराका मेयर धनराज आचार्यले गर्नुभएको हो ।
इन्द्र राज्यलक्ष्मी मावि प्रागंणमा ३ दिनसम्म चल्ने महोत्सवमा लामाचौर कपसहित विविध साङ्गीतिक एवं सांस्कृतिक हुँदै छन् । तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता यहाँका थप आकर्षण हुन् ।
पुरुष भलिबल विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार दिइनेछ । अन्तर मावि छात्रा भलिबल विजेताले १ लाख र उपविजेताले ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछ । साथै, दुवै इभेन्टमा उत्कृष्ट विधामा आकर्षण पुरस्कार रहेको छ ।
महोत्सवमा औद्योगिक तथा व्यापारिक ५० स्टल, बाल उद्यान, स्रष्टा सम्मान, कलाकारको दैनिक प्रस्तुति लगायत विविध मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रम हुने प्रचार संयोजक विष्णुप्रसाद गौतमले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्