तपाईँ सुन्दै हुनुहुन्छः

मुग्लिन-पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

दमौली,तनहुँ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को चौथो पटक म्याद थप भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वीखण्डअन्तर्गत तनहुँको जामुनेदेखि आँबुखैरेनीसम्मको चौथो पटक म्याद थप गरेको हो । 

मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार आगामी असोज २५ गतेसम्म म्याद थप भएको छ । यो खण्डको तेस्रो पटक थप भएको म्याद गत असार २९ गतेदेखि सकिएको थियो ।

पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ दशमलव पाँच  किलोमिटर खण्डमा चार लेनमा कालोपत्रे सम्पन्न भइसकेको छ । कालोपत्रेबाहेकका अन्य केही काम बाँकी रहेकाले केही समय म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको थियो ।

उहाँले भन्नुभयो, “कालोपत्रेको सबै काम सकिएको छ, दमौली बजारमा छ लेन र अन्य ठाउँमा चार लेनमा सडक कालोपत्रे भएका छन् । अधिकांश ठाउँमा सडक रङ् रोगन पनि सकिएको छ । अब थोरै मात्र काम बाँकी रहेकाले केही समय म्याद थपका लागि पठाएका थियौँ ।”

सम्झौता भएको तीन वर्ष र पछिल्लो ४५६ दिनमा कालोपत्रेको काम सकिएको उहाँको भनाइ छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । 

उक्त खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button