भियतनामका उपराष्ट्रपतिको भ्रमणबाट द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास
काठमाडौँ । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीन दिने औपचारिक नेपाल भ्रमणमा हुनुहुन्छ । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उहाँ आज काठमाडौँ आउनुभएको हो ।

भियतनामका लागि गैर आवासीय नेपाली राजदूत धनबहादुर ओली उच्चस्तरको यस भ्रमणबाट दुई मुलुकबिचको सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा गर्नुहुन्छ । नेपाल र भियतनामबिच १९७५ मे १५ मा औपचारिक दौत्य सम्बन्ध स्थापना भएको थियो ।
त्यसयता दुवै मुलुकबिच पारस्परिक सद्भाव र विविध क्षेत्रमा सहकार्य हुँदै आएको छ । दुई देशबिच यस प्रकारका उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट सरकारी स्तरमा मात्रै नभई व्यापार, व्यवसाय र जनस्तरमा समेत द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउन योगदान पुग्ने विश्वास गरिएको छ ।
भियतनामका उपराष्ट्रपति सुआनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति यादव, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट तथा विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्र र स्वयम्भूनाथको भ्रमण गर्ने कार्यक्रम छ ।
दुई देशबिच दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा यस वर्ष दुवै मुलुकमा विविध कार्यक्रम आयोजना गरिएका छन् । नेपालले आउँदो अक्टोबरमा भियतनामको हनोइमा विशेष कार्यक्रम आयोजना गर्ने राजदूत ओलीले जानकारी दिनुभयो । कार्यक्रममा कृषि, पर्यटन, लगानी, व्यापार र सांस्कृतिक आदान–प्रदानलाई प्राथमिकताका साथ अघि बढाइने योजना छ । त्यस कार्यक्रममा नेपालका तर्फबाट पनि उच्चस्तरीय भ्रमणको सम्भावना छ ।
दुई मुलुकबिच कूटनीतिक र सरकारी राहदानीवाहकलाई प्रवेशाज्ञा (भिसा) छुट दिने तथा लगानीसम्बन्धी सम्झौताको तयारी भइरहेको राजदूत ओलीले जानकारी दिनुभयो ।
भियतनामले उत्पादन र निर्यात क्षमतामा ठुलो प्रगति गरिसकेको छ । विशेष गरी कफी, धान, फलफूल र अन्य उत्पादनमा सफलता हासिल गरेको भियतनामसँग नेपालले अनुभव आदान–प्रदान गर्न सक्ने उहाँको भनाइ छ । कृषि मूल्य शृङ्खला विकास, आधुनिक प्रविधि प्रयोग र उत्पादन वृद्धिमा सहकार्य गर्न सकिने सम्भावना रहेको राजदूत ओलीले बताउनुभयो ।
दुई देशबिच पर्यटन अर्को सम्भावित क्षेत्रका रूपमा देखिएको छ । नेपाल र भियतनामबिच हालसम्म प्रत्यक्ष हवाई सम्झौता नभए पनि त्यसको प्रक्रिया सुरु गरिएको छ । यसलाई निष्कर्षमा पुर्याउन सकेमा दुवै देशबिच पर्यटक आदान–प्रदानमा सहजता हुने अपेक्षा गरिएको थाइल्यान्डका लागि नेपाली आवासीय राजदूत ओलीले बताउनुभयो ।
विशेष गरी लुम्बिनीलाई केन्द्र बनाएर ‘चार्टर फ्लाइट’ सुविधा उपलब्ध गराएमा भियतनाम मार्ग हुँदै कोरिया, जापानलगायत मुलुकका पर्यटकलाई नेपाल भित्र्याउन सकिने विश्वास गरिएको छ । यसले बौद्ध पर्यटनलाई अझ प्रवर्द्धन गर्नेछ ।
शैक्षिक तथा सांस्कृतिक आदान–प्रदानमा पनि दुई देशबिच सहकार्यको प्रशस्त सम्भावना छ । विशेष गरी लुम्बिनीमा स्थापित बौद्ध विश्वविद्यालय तथा अध्ययन केन्द्रलाई लक्षित गरेर विद्यार्थी आदान–प्रदान कार्यक्रम सञ्चालन गर्न सकिनेछ । यसले दुई देशका युवापुस्ताबिचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ । त्यसैगरी, नेपाल–भियतनाम मैत्री सङ्घ सक्रिय रूपमा लागिरहेको र यसले दुवै देशका नागरिक स्तरीय सम्बन्धलाई प्रगाढ बनाउन सहयोग पुर्याइरहेको छ ।
नेपाल र भियतनाम दुवै मुलुक बुद्ध धर्मसँग सम्बन्धित भएकाले सांस्कृतिक नाता गहिरो छ । अन्तर्राष्ट्रिय मञ्चमा पनि दुवै देश शान्तिप्रिय राष्ट्रका रूपमा परिचित छन् । जलवायु परिवर्तन, हरित विकास र बहुपक्षीय सहकार्यका विषयमा दुवै देशको साझा दृष्टिकोण रहेको राजदूत ओलीको भनाइ छ ।
नेपाल–भियतनाम दौत्य सम्बन्धको ५०औँ वार्षिकोत्सव द्विपक्षीय सम्बन्धलाई अझ नजिक ल्याउने महत्त्वपूर्ण अवसर मानिएको छ । राजदूत ओलीका अनुसार भियतनामका उपराष्ट्रपतिको नेपाल भ्रमण दुई देशबिचको सम्बन्ध थप मजबुत तुल्याउने महत्त्वपूर्ण कडीका रूपमा रहने छ ।
प्रतिक्रिया राख्नुहोस्