तपाईँ सुन्दै हुनुहुन्छः

झापामा एक सातामा करेन्ट लागेर तीनजनाको मृत्यु

झापा । झापामा पछिल्लो एक सातामा करेन्ट लागेर तीनजनाको मृत्यु भएको छ । दुईजनाको करेन्ट लगाएर माछा मार्दा र एकजनाको पङ्खा मर्मत गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो । लापरवाही र असावधानीका कारण झापामा धेरै जनाले करेन्टबाट ज्यान गुमाउनु परिरहेको छ ।

यसैक्रममा, आज बिहान करेन्ट लगाएर माछा मार्दा एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान ८ः३० बजे कनकाई नगरपालिका वडा नं. १ स्थित खहरे खोलामा सोही ठाउँ बस्ने ३७ वर्षीय पंकज माझीले बिजुलीको पोलबाट करेन्ट लगाई माछा मार्ने क्रममा उनलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो । 

प्रहरीका अनुसार तीन दिनअघि कमल गाउँपालिका–३ स्थित ढ्याङ्ग्री खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर खानेपानी टोल बस्ने २१ वर्षीय उज्वल राईको मृत्यु भएको थियो भने भदौ २ गते मेचीनगर नगरपालिका ५ भेटघाट चौक बस्ने २२ वर्षीय सन्दीप राजवंशीले आफ्नै घरको टेबल पङ्खा बिग्रेर मर्मत गर्ने क्रममा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको थियो ।

भदौको एक साताभित्र करेन्ट लागेर तीन जनाले ज्यान गुमाउँदा गत साउन महिनामा पाँच जनाको मृत्यु भएको थियो । गत वर्ष झापामा करेन्ट लागेर १५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button