६ लाख १३ हजार ७ सय १८ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले सामाजिक सुरक्षा कोषमा हालसम्म औपचारिक क्षेत्रहरूबाट ६ लाख १३ हजार ७ सय १८ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएको जानकारी गराउनुभएको छ ।
प्रतिनिधि सभामा आज सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले औपचारिक क्षेत्रमा २१ हजार तीन सय ९२ रोजगार दाताहरू दर्ता भइसकेको जानकारी गराउनुभयो ।
मन्त्री भण्डारीले सबै नेपाली नागरिकलाई सामाजिक सुरक्षा कोषमा जोड्ने उद्देश्यसहित अगाडी बढेको र नागरिक लगानी कोषमा सबै सहभागी हुनुपर्ने बताउनुभयो ।
उहाँले सामाजिक सुरक्षा कोषमा अनिवार्य दर्ता गराउने उद्देश्यले सरकारले आइएलओ कन्भेन्सन ८१ र ८७ लाई अनुमोदन गर्ने गरी काम अगाडी बढाएको र किट भविष्यमा अनौपचारिक क्षेत्रमा समेत आवश्यक नियमन गरी थप श्रमिक कोषमा आबद्ध हुने विश्वास लिएको बताउनुभयो ।
श्रम मन्त्री भण्डारीले नेपालले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको तलब, पेन्सन, स्वास्थ्य सुरक्षा लगायतका लागि अन्तर्राष्ट्रिय मान्यता र आइएलओ मापदण्ड अनुसार गर्न दुई पक्षीय सम्झौताहरू अगाडी बढाएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्