तपाईँ सुन्दै हुनुहुन्छः

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । 

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११ बजे १०औँ केन्द्रीय कमिटीको बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार दोस्रो विधान महाधिवेशनको तयारीका लागि बैठक बोलाइएको हो । उहाँले बैठकमा महाधिवेशनमा पेस गर्ने विधान संशोधन प्रस्ताव प्रतिवेदनबारे छलफल गरिने जानकारी दिनुभयो । विधान संशोधन प्रस्ताव प्रतिवेदन पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेस गर्नुहुनेछ । एमालेले विधान संशोधन प्रस्तावमाथिको सुझाव पठाउन मातहतका कमिटीलाई यही भदौ १० गतेसम्मको समयसीमा दिएको छ । 

कार्यालय सचिव डा अधिकारीले विधान संशोधनसम्बन्धी सुझावलाई समेटेर प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गरिने र सो छलफलपछि पारित गरिने बताउनुभयो । यसअघि नवौँ केन्द्रीय कमिटी बैठक गत साउन ५ र ६ गते बसेको थियो । 

दोस्रो विधान महाधिवेशनमा दुई हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी दुई हजार ३९२ जनाको सहभागिता हुनेछ । एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही भदौ २० देखि २२ सम्म हुनेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button