ठगीको आरोपमा चार जना पक्राउ

बागमती । नक्कली सुनलाई सक्कली भनी ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नक्कली सुनसहित हेटौँडा उपमहानगरपालिका– ११ सुकुम्वासी टोलमा कोठा भाडामा लिई बस्दै आएका मकवानपुरगढी गाउँपालिका– २ निवासी ३४ वर्षीय किशोर लामा गोले, बकैया गाउँपालिका– ८ निवासी ४५वर्षीय सूर्यबहादुर नेगी, सोही ठाउँका ४४ वर्षीय सेतेलाल गोङवा र नुवाकोट किस्पाङ गाउँपालिका– १ भाल्चे निवासी ४१ वर्षीय नाम्केल तामाङलाई पक्राउ गरेको हो ।
उनीहरूको कोठाभित्र खानतलासी गर्ने क्रममा झोलाभित्र राखिएको अवस्थामा पम्प लेखिएको सुन जस्तो देखिने पहेँलो धातु ५० थान फेला परेको र आवश्यक परीक्षणका लागि मकवानपुर सुनचाँदी व्यवसायी सङ्घलाई पत्राचार गर्दा जसमध्ये ४९ थान नक्कली रहेको र एक थान १० ग्राम सक्कली सुन भएको पुष्टि भएकाले चारै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
बरामद सक्कली सुनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ । बाँकी ४९ थान सुन जस्तो देखिने नक्कली पहेँलो धातुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । पक्राउ परेका चारै जनामाथि ठगी उद्योग कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उहाँको भनाइ छ । रासस
प्रतिक्रिया राख्नुहोस्