बाँकेमा रासायनिक मलको अभाव, किसान रातभर लाइनमै बस्न बाध्य

बाँके । धान खेतीको मुख्य समयमा बाँकेमा रासायनिक मलको चरम अभाव भएपछि किसानहरू सहकारी धाउँदै रातभर लाइनमै बस्न बाध्य भएका छन्।
कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत बाँकेमा मल आपूर्ति हुँदै आएको भए पनि किसानको मागअनुसार आपूर्ति नहुँदा समस्या गहिरिएको हो।
कृषि सामग्री कम्पनीका अनुसार गत आर्थिक वर्षमा करिब ८ हजार २४ मेट्रिक टन युरिया, डीएपी र पोटास बिक्री भएपनि चालु आर्थिक वर्षको साउन महिनामा जम्मा ६ सय मेट्रिकटन मात्र वितरण भएको छ।
कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख पुष्पराज श्रेष्ठले मागको आधा मात्र आपूर्ति भएकाले वितरणमा समस्या देखिएको बताउनुभयो । उहाँका अनुसार थप मल भदौ दोस्रो साताभित्र आउनेछ।
यता साल्ट ट्रेडिङ नेपालगञ्जले करिब ७ हजार बोरा मल ल्याएर सहकारीमार्फत वितरण गरेको भए पनि सहकारीहरूले पाएको परिमाण मागको २० देखि३० प्रतिशत मात्र भएको गुनासो गरेका छन्। कान्ति पोखरी कृषि सहकारीका अध्यक्ष रमजार अली इद्रीसीका अनुसार किसानलाई आवश्यक परिमाण धान्न नसक्दा असन्तोष बढेको छ।
नेपालगञ्ज उपमहानगरपालिकाका वडा अध्यक्ष दीपककुमार बर्माले विगतमा भारतबाट पनि मल ल्याउने गरिएको तर यस वर्ष भारतीय पक्षले नाकामा कडाइ गर्दा थप अभाव भएको बताउनुभयो। केही पालिकाले विकल्पका रुपमा निजी कम्पनीमार्फत मल वितरण थाले पनि पर्याप्त हुन सकेको छैन। धानमा मल हाल्ने उपयुक्त समय सकिन लाग्दा आवश्यक मल नपाएको किसानको गुनासो बढ्दै गएको छ।
प्रतिक्रिया राख्नुहोस्