विपद् लगायत मानवीय सङ्कटमा क्षेत्रीय एकता आवश्यक : मन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनका सबै चरणमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय साझेदारहरूसँग मिलेर सरकारले काम गरिरहेको बताउनुभएको छ ।
विश्व मानवतावादी दिवसका अवसरमा आज काठमाडौँमा आयोजित ‘नेपाल मानवतावादी सम्मेलन –२०२५’ लाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विपद् लगायत मानवीय सङ्कटमा क्षेत्रीय एकता, अनुभवहरूको आदानप्रदान र कार्यान्वयनयोग्य समाधानहरू खोज्नुपर्ने बेला भइसकेको बताउनुभयो ।
गृहमन्त्री लेखकले जटिल भौगोलिक विविधताका कारण नेपालमा प्राकृतिक प्रकोप तथा मानवीय सङ्कटहरू दोहोरिइरहेको र भूकम्प, बाढी, पहिरो, खडेरी, डढेलोजस्ता प्राकृतिक प्रकोपका अतिरिक्त जलवायु परिवर्तन, वातावरणीय क्षय, द्वन्द्व तथा बढ्दो असमानताका कारण मानवीय कार्यले चुनौतीको सामना गर्दै आएको बताउनुभयो ।
नेपालको संविधानले स्थानीय तहलाई विपद् व्यवस्थापनको पहिलो जिम्मेवारी दिएको भन्दै गृहमन्त्री लेखकले स्थानीय तहलाई सबल बनाउने कार्यका लागि पालिका स्तरमा विपद् व्यवस्थापन समिति, स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र, हरेक पालिकामा गोदाम घरको व्यवस्था, पालिकामा बस्ने स्वयंसेवकहरूको गठन तथा तालिम, स्थानीय विपद् व्यवस्थापन कोषलगायतको व्यवस्था गरिएको बताउनुभयो ।
गृहमन्त्री लेखकले स्थानीय तह एवं समुदायको क्षमताको विकासका साथै आपतकालीन तयारी र दिगो पुनर्निर्माणका लागि सरकार निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो ।
भविष्यका चुनौतीहरूलाई सामना गर्न विकास साझेदार निकाय, अन्तर्राष्ट्रिय साझेदार संस्थाहरू र राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्दै सक्षम मानवीय संरचना निर्माण गर्न कटिबद्ध रहेको गृहमन्त्री लेखकले बताउनुभयो
सम्मेलनले स्थानीय नेतृत्वलाई मजबुत बनाउने र समान साझेदारी बढाउने विषमा पर्याप्त छलफल गरी एउटा निष्कर्ष निकाल्ने विश्वास गृहमन्त्री लेखकले व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्