‘सहिद दशरथ चन्द विश्वविद्यालयलाई गतिशीलता प्रदान गर्न लाग्छौँ’
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरी नगरपालिका–५ स्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई गतिशीलता प्रदान गर्न आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।

आज यहाँ सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले सङ्घ सरकारसँगको संवाद र छलफलबाट विश्वविद्यालयलाई गतिशीलता प्रदान गरिने बताउनुभयो ।
मुख्यमन्त्री शाहले सङ्घ सरकारसँग निरन्तर संवाद गरेर पदाधिकारी नियुक्ति, बजेट तथा संरचना व्यवस्थापनमा पहल गरिने बताउनुभयो । केही दिनअघि विश्वविद्यालयबारे प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसँग छलफल गरेको उहाँले जानकारी दिनुभयो ।
समितिले चालु आर्थिक वर्षमा नै चिकित्सा शिक्षा (एमबिबिएस) अध्ययनका लागि सिट सङ्ख्या निर्धारण गर्ने प्रक्रिया सुरु गर्न र ६०० शय्याको अस्पताल सञ्चालनका लागि भौतिक संरचना तयार भए तत्काल तीन सय शय्यामा अस्पताल सञ्चालन गर्न पहलका लागि मुख्यमन्त्री शाहलाई आग्रह गरेको छ ।
ऐनअनुसार विश्वविद्यालय सभा गठन र पदाधिकारी नियुक्ति गरी रोजगारी, व्यवसाय, पर्यटन र आर्थिक रूपान्तरणमा योगदान पुर्याउने गरी यथाशीघ्र काम अगाडि बढाउन सङ्घर्ष समितिले आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्