समृद्ध नेपाल तथा सुखी नेपालीको अभियान पुरा गर्न सुशासन जरुरी : प्रधानमन्त्री ओली

जनकपुरधाम । प्रधानमन्त्री के पी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पुरा गर्नका लागि सुशासन पहिलो शर्त भएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले मधेश प्रदेश सरकारको आर्थिक लगानीमा निर्माण भएको मधेश प्रदेश प्रहरीको नव निर्मित प्रशासनिक भवनको आज जनकपुरधाममा उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।
उहाँले मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा अपराध नियन्त्रणको क्षेत्रमा नेपाल प्रहरीको भूमिका महत्व पूर्ण भएको बताउँदै सीमा क्षेत्रबाट हुने सबै प्रकारको अवैध क्रियाकलापमा कडाइका साथ प्रस्तुत हुनका लागि सबै तहका प्रहरीलाई निर्देशन दिनु भयो ।
प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्धिको यात्रामा लानका लागि शान्ति सुरक्षा महत्वपूर्ण शर्त भएको बताउँदै शान्ति सुरक्षा, सुशासन, लागु पदार्थको नियन्त्रण घटनामा निष्पक्ष रुपमा काम गर्नका लागि पनि निर्देशन दिनु भयो ।

उहाँले मधेशमा निर्दोषलाई फसाउने तथा दोषी जोगाउने जस्ता गुनासाहरू आउने गरेको बताउँदै यस्तो काम नगर्नका लागि सबै दर्जाका प्रहरीहरूलाई निर्देशन दिँदै मुलुकको राजश्व वृद्धिका लागि सीमाबाट हुने तस्करी नियन्त्रणमा कडाई गर्नका लागि निर्देशन दिनु भयो ।
प्रधानमन्त्री ओलीले मुलुकले समुन्नत तथा सक्षम प्रहरी बनाउन चाहेको तर यथा स्थिति वादीले मुलुकलाई प्रतिगमन तर्फ लान चाहेको बताउँदै पछिल्लो परिवर्तनपछि नेपाल प्रहरी सशस्त्र तथा नेपाली सेनाको क्षमता विकासका लागि ठूला–ठूला संरचनाहरूको निर्माण भएको बताउनु भयो ।
उहाँले नेपाल बनाउने अभियानमा ठूलो बलिदान तथा सङ्घर्ष गरेका दुई ठूला दलको सरकारले आफ्नो गतिमा मुलुकको समृद्धिको यात्रालाई बढाएकाले नयाँ तथा पुराना शक्तिलाई नपचेको बताउँदै अव यथा स्थितिमा मुलुक रहनै नसक्ने बताउनु भयो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले संविधानको भावना तथा मधेश प्रदेश सरकारको मौजुदा गतिलाई अझ बढी प्रभावकारी बनाउनका लागि प्रहरी समायोजन शीघ्र रुपमा गरिदिनका लागि संघ सरकार तथा प्रधानमन्त्रीसँग आग्रह गर्नु भयो ।
उहाँले मधेश प्रदेशलाई संघीय सरकारले सङ्कटग्रस्त प्रदेश घोषणा गरेकोमा धन्यवाद दिँदै अव चुरे तथा भावर क्षेत्रमा पानी सञ्चयको कार्यक्रम बढाई सुनकोशी मरिन तथा सुनकोशी कमला डाईभर्सको निर्माणमा गति दिन सकेको खण्डमा मधेश प्रदेशले वर्षको तीन बाली दिने बताउनु भयो
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापाले समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्प पुरा गर्नका लागि शान्ति सुरक्षा, सुशासन तथा अपराध नियन्त्रणमा नेपाल प्रहरी सक्रियतापूर्वक लागे र अझै कडाइका साथ लागी रहने प्रतिबद्धता प्रकट गर्नु भयो ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले प्रदेश सरकारको करिब २३ करोडको लागमा निर्माण भएको मधेश प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवनको निर्माणले प्रहरीको कार्य क्षमतामा वृद्धि हुने विश्वास व्यक्त गर्नु भयो ।
यस अघि मधेश प्रदेश प्रहरीको तर्फबाट प्रधानमन्त्रीको सम्मानमा प्रहरीले सम्मान गाहस्थ अर्पणका साथै सलामी अर्पण गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्