उत्तर कोरियाद्वारा अमेरिका–दक्षिण कोरिया अभ्यासलाई लिएर ‘दृढ जवाफी कारबाही’ को चेतावनी
सियोल । उत्तर कोरियाले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीचको आगामी संयुक्त सैन्य अभ्यासबाट कुनै उत्तेजनाको स्थिति भएमा ‘दृढ जवाफी कारबाही’ का साथ प्रतिक्रिया दिने यसको रक्षामन्त्रीले सोमबार राज्य मिडिया प्रेषणमा बताएका छन् ।
सियोल र वासिङ्टनले अगस्ट १८ देखि २१ सम्म आणविक हतियार सम्पन्न उत्तर कोरियालाई नियन्त्रण गर्ने उद्देश्यले आफ्नो वार्षिक उल्ची फ्रिडम सिल्ड अभ्यास गर्न तयार भएपछि यो चेतावनी आएको हो ।
सन् १९५० मा आफ्नो छिमेकीलाई आक्रमण गरी कोरियाली युद्ध सुरु गरेको उत्तर कोरियाले सधैँ अमेरिका–दक्षिण कोरियाली सैन्य अभ्यासप्रति रिस पोखेको छ र तिनलाई आक्रमणको पूर्वाभ्यास भन्दै आलोचना गरेको छ ।
“उत्तर कोरियाका सशस्त्र बलहरूले अमेरिका र दक्षिण कोरियाको युद्ध अभ्यासको सामना आत्मरक्षाको अधिकारको स्तरमा ।।। पूर्णरूपमा र दृढ जवाफी कारबाहीको मुद्रामा गर्नेछन्”, उत्तर कोरियाका रक्षाप्रमुख नो क्वाङ चोलले कोरियाली केन्द्रीय समाचार एजेन्सीले प्रकाशन गरेको विज्ञप्तिमा भन्नुभएको छ ।
अमेरिकाले दक्षिण कोरियामा लगभग २८ हजार पाँच सय सैनिक तैनाथ गरेको छ र सहयोगीहरूले नियमित रूपमा संयुक्त अभ्यास गर्छन् जसलाई तिनीहरूले रक्षात्मक प्रकृतिको भन्छन् ।
सियोल र प्योङयाङ हालै दुई पक्षले सीमामा प्रोपागान्डा लाउडस्पिकरहरू हटाएर सम्बन्ध सुधारतर्फ अघि बढिरहेको देखिन्छ ।
सियोलको नयाँ प्रशासनले आफ्ना लाउडस्पिकरहरूलाई भत्काएको केही दिनपछि उत्तर कोरियाली सेनाले सीमामा अस्थिर आवाजहरू भड्काउन प्रयोग गरिने प्रोपागान्डा लाउडस्पिकरहरू नष्ट गर्न थालेको सियोलले जनाएको छ ।
प्योङयाङसँगको तनाव कम गर्न खोजिरहेका राष्ट्रपति ली जे म्युङको निर्वाचनपछि सियोलको सेनाले जुनमा दुई देशले पहिले नै असैन्यीकृत क्षेत्रमा प्रचार प्रसारण रोकेको बताएको थियो ।
दुई कोरियाबीचको सम्बन्ध पूर्व राष्ट्रपति युन सुक योलको शासनकालमा सबैभन्दा तल्लो विन्दुमा पुगेको थियो । सियोलले प्योङयाङतर्फ कडा रुख लिएको थियो । उत्तर कोरिया युक्रेनमा रुसले आक्रमण गरेपछि मस्कोको नजिक पुगेको छ ।
लीले आफ्नो जुनको चुनावदेखि नै उत्तर कोरियासँग व्यवहार गर्न फरक दृष्टिकोण अपनाउनुभएको छ । यसमा नागरिक समूहहरूलाई बेलुनद्वारा सीमापार प्रचार पर्चाहरू पठाउन बन्द गर्न अनुरोध गरिएको छ । रासस/एएफपी
प्रतिक्रिया राख्नुहोस्