पर्सा जिल्ला अदालतद्वारा गत आर्थिक वर्षमा ७ हजार २ सय ४४ वटा मुद्दा फर्छ्यौट
वीरगञ्ज । पर्सा जिल्ला अदालतले गत आर्थिक वर्ष २०८१/८२ मा ७ हजार २ सय ४४ वटा मुद्दा फर्छ्यौट गरेको छ ।

अदालतले गत आवमा अघिल्लो आवको जिम्मेवारी सरेका र नयाँ दर्ता भएकामध्ये कूल १२ हजार छ सय ३५ मुद्दामध्ये ५७ दशमलव ३३ प्रतिशत मुद्दा फर्छ्यौट गरेको हो ।
पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश दीपक खनालले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा पर्सा अदालतको मुद्दा फर्छ्यौटको प्रतिशतमा वृद्धि भएको जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा भएको मुद्दाको फर्छ्यौट प्रगति उन्मुख देखिएको बताउँदै बाहाँले मुद्दा फर्छ्यौटमा अदालतको मात्रै एकल भूमिका नभएर अन्य सरोकारवाला निकायको पनि भूमिका महत्त्वपूर्ण हुने जानकारी दिनुभयो ।
अघिल्लो आवबाट जिम्मेवारी सरेका ६ हजार ९२ र गत आवमा नयाँ दर्ता भएका मुद्दा सङ्ख्या भने ६ हजार ५ सय ४३ छन् । त्यस्तै अदालतमा १८ महिना नाघेका मुद्दाको सङ्ख्या ३ सय ६७ र दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या भने ३ सय ३४ रहेका छन् । न्यायाधीश नन्दकिशोरप्रसाद यादवले अदालतले पनि न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजना अनुसार नै काम गर्दै आइरहेको जानकारी दिनुभयो ।
अदालतका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकले वार्षिक कार्य योजना अनुसार नै लक्ष्य राखेर मुद्दाको फर्छ्यौट गर्ने योजना रहेको बताउनुभयो । अदालतमा ११ न्यायाधीश कार्यरत रहनुभएको छ । अदालतमा कार्यरत रहेका न्यायाधीशमध्ये न्यायाधीश माधवप्रसाद घिमिरेले गत आव भरिमा ९ सय ८३ मुद्दा फर्छ्यौट गर्न सफल हुनुभएको छ । उहाँलाई आइतबार एक कार्यक्रमबिच दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
मुख्य न्यायाधीश दीपक खनालले ९ै सय ३९ मुद्दा फर्छ्यौट गर्नुभएको छ भने न्यायाधीश नन्दकिशोरप्रसाद यादवले ७ सय ६२, न्यायाधीश आनन्दप्रसाद श्रेष्ठले ६ सय ३०, न्यायाधीश प्रमेश पोखरेलले ६ सय पाँच मुद्दा फर्छ्यौट गर्नुभएको छ । त्यस्तै न्यायाधीश उत्तम सिलवालले काठमाडौँ र पर्सामा गरी ६ सय २४, न्यायाधीश उपेन्द्रकेशर खनालले सिराहा र पर्सामा गरी ६ सय ५७ मुद्दा फर्छ्यौट गर्नुभएको छ ।
न्यायाधीश मोहन सुवेदीले पाँच सय ८४, न्यायाधीश मुकुन्द आचार्यले पाँच सय ३८, कमलकान्त जोशीले पाँच सय ६६, न्यायाधीश रुद्रप्रसाद सुवेदीले पाँच सय एक वटा मुद्दा वर्षभरिमा फर्छ्यौट गर्नुभएको छ
पर्सा जिल्ला अदालतले गत आर्थिक वर्षमा नौ सय ५६ वर्ष तीन महिना एक दिन कैद बराबरको जरिवानाको लगत फर्छ्यौट गरेको छ । जबकि अघिल्लो आवसम्म तीन हजार पाँच सय ५८ वर्ष ११ महिना ६ दिन कैदको लगत रहेको थियो गत आवभरिमा प्रति न्यायाधीश ८ सय ४३ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य तोकिएको थियो ।
मुख्य न्यायाधीश खनालले अदालतले न्याय सम्पादन गर्दा अदालतको प्रक्रिया र कार्यविधिलाई आधार मानेर फैसला गर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्