दाङमा कृषि एम्बुलेन्स सेवा सुरु, सरकारी गाडीमा तरकारी बेच्दै किसान
घोराही । कृषि ज्ञान केन्द्र दाङले किसानले उत्पादन गरेका तरकारीजन्य बस्तुहरु बिक्रीका लागि कृषि एम्बु्लेन्स सेवा सञ्चालन गरेको छ ।
कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण किसानका तरकारीले बजार नपाएको व्यापक गुनासोपछि कृषि ज्ञान केन्द्रले गाउँका तरकारी बिक्री गर्न कार्यालयकै गाडी प्रयोग गरेर कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।
गाउँका ति उत्पादित बस्तुसँगै उत्पादनकर्ता किसानलाई गाडीमा राखेर बिक्रीको व्यबस्था मिलाइएको केन्द्रका कृषि प्रसार अधिकृत भरतमणि पोख्रेलले जानकारी दिनुभएको छ । घोराहीमा दुई वटा गाडीलाई कृषि एम्बुलेन्स सेवाका लागि परिचालन गरिएको छ ।
जिल्ला भरीका किसानहरुको उत्पादनलाई बिक्री गर्न सहजता ल्याउने उद्देश्यले यस्तो सेवा सुरु गरिएको उहाँको भनाई छ । सरकारी अनुदान लिएका र व्यक्तिगत, समुह एवं सहकारीबाट सञ्चालित कृषि फर्ममा पुगेर तरकारी ढुवानी तथा बिक्रीमा सहजीकरणको काम भएको पोख्रेलले बताउनुभयो ।
दाङ जिल्ला उद्योग बाणिज्य संघसँगको समन्वयमा बजार मूल्य तोकिएको तर किसानले तोकिएको मूल्य भन्दा थोरैमा पनि बेच्न पाउने गरी निर्णय भएको केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्रले किसानहरुको समस्या समाधानका लागि र्यापिड रेस्पोन्स टिम गठन गरेको छ ।
केन्द्रका प्रमुख दिपक धितालको संयोजकत्वमा उक्त टिम गठन गरिएको छ । उक्त टिमले किसानका समस्यालाई तत्काल सम्बोधन गर्ने छ ।







प्रतिक्रिया राख्नुहोस्