मधेशमा सतही सिँचाइ प्रणालीको विकास जरुरी
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुलुक बढ्दो व्यापार घाटालाई बढ्न नदिनका लागि चुरेको संरक्षण एवं मधेशमा सतही सिँचाइ प्रणालीको विकास जरुरी रहेको बताउनुभएको छ ।

मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालय, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र सङ्घीय वन मन्त्रालयका रेड कार्यान्वयन केन्द्रको संयुक्त आयोजनामा “चुरे, तराई मधेश क्षेत्रमा पानी संरक्षण तथा व्यवस्थापन” सम्बन्धी जनकपुरधाममा आयोजित अन्तरक्रियामा उहाँले खाद्यान्नको कारणले नेपालको व्यापार घाटा दिन प्रतिदिन बढ्नु चिन्ताको विषय भएको बताउनुभयो ।
मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकारले गत आर्थिक वर्षमा १५ वटा सतही सिँचाइ को योजना अगाडी बढाएको बताउँदै मधेशका आठै जिल्लामा रहेको पानीको दीर्घकालीन समाधानका लागि सुनकोशी–मरिन तथा सुनकोशी कमला डाइभर्सनको निर्माणमा संघ सरकारले ढिलाइ गर्न नहुने बताउनुभयो ।
मधेश प्रदेशका वन तथा वातावरण मन्त्री सञ्जय कुमार यादवले मधेश प्रदेशमा परेको असरले समग्र देशको खाद्य सुरक्षामा असर पर्ने भएकाले चुरे तथा भावर क्षेत्रमा नयाँ संरचनाको निर्माण तथा नयाँ सहर निर्माणमा पूर्ण रूपमा रोक लगाउन जरुरी रहेको बताउनुभयो ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले एसियाली विकास बैङ्कको सहयोगमा सर्लाही तथा रौतहट जिल्लाका लागि ५–५ सयको दरले १३ करोडको लागतमा डिप बोरिङका लागि समितिमा अनुमतिका प्रदान गर्न पत्र आएको बताउँदै डिप बोरिङ कम्तीमा पनि ८ सय फिटमा हुनुपर्ने पक्षमा समिति भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्