‘कला, संस्कृति र सम्पदाहरूको संरक्षणका लागि सरकार प्रतिबद्ध’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सबै क्षेत्रका कला, संस्कृति र सम्पदाहरूको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
हुलाक सेवा विभागले प्रकाशन गरेका हुलाक टिकटहरूमा प्रथम दिवसीय आवरणमा टाँचा लगाउन आज काठमाडौँमा गरेको कार्यक्रममा सञ्चार मन्त्री गुरुङले नेपालमा प्रचलित जात्रा र पर्वहरू नै नेपालीको पहिचान भएकोले यसको संरक्षण र प्रचारप्रसारमा जोड दिनुपर्ने बताउनुभयो ।
सञ्चार मन्त्री गुरुङले हुलाक टिकटले नेपालको कला संस्कृति र सभ्यतासँग जोडिएका ऐतिहासिक स्थल, अभिलेखको प्रचार–प्रसार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
कार्यक्रममा हुलाक सेवा विभागका महानिर्देशक मनमाया पङ्गेनीले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका स्थलहरू अङ्कित हुलाक टिकटले नेपाली कला संस्कृति र सम्पदालाई विश्व बजारमा प्रचार–प्रसार गरी पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने बताउनुभयो ।
हुलाक सेवा विभागले ३ जना शिक्षाविद्हरू, दुई वटा नेपालका पुराना मूर्तिहरू, ४ वटा प्रसिद्ध जात्राहरू र ५ वटा विभिन्न स्थानका प्रसिद्ध मन्दिरहरू अङ्कित विभिन्न १४ वटा हुलाक टिकटमा आज प्रथम दिवसीय टाँचा लगाएको हो ।
विभागले शिक्षाविद्हरू शङ्करदेव पन्त, इन्जिनियर कुलरत्न तुलाधर र पण्डित ऋषिराम पन्थी, रैथाने जात्राहरू गाईजात्रा, बिस्केट जात्रा, घोडेजात्रा र हाँडीगाउँको जात्रा, तथा बैतेश्वर मन्दिर दोलखा, बालकुमारी मन्दिर ललितपुर, भीमसेन मन्दिर गोरखा, सप्तदेवल दैलेख, कोतदेवी मन्दिर भक्तपुर, भगवान् विष्णुको मूर्ति सर्लाही र श्री स्वस्थानीको प्रस्तर मूर्ति काठमाडौँको तस्बिर अङ्कित हुलाक टिकटहरूमा प्रकाशन गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्