भोजपुरमा ७६ प्रतिशत रोपाइँ सम्पन्न
भोजपुर । कोसी प्रदेशको पहाडी जिल्ला भोजपुरमा अहिलेसम्म ७६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । समयमा पानी नपरेका कारण भोजपुरका कृषकहरू मारमा परेका हुन ।
भोजपुरको कुल खेतीयोग्य जमिनको क्षेत्रफल ६२ हजार दुई सय ९९ हेक्टर रहेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । जसमा १२ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिएको छ । भोजपुरमा हालसम्म नौ हजार एक सय ५८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । कम पानी परेका कारण यस वर्ष धान रोपाइँमा ढिला भएको हो ।
कम पानी परेका कारण कृषकहरूले समयमा नै धान खेती गर्न नपाएको अरुण गाउँपालिकाका कृषक सोमनाथ कोइरालाले बताउनुभयो । उहाँका अनुसार अहिले पनि जिल्लाका ग्रामीण क्षेत्रहरूमा रोपाइँ भई रहेको छ ।
भोजपुर जिल्लामा बेलकुटी, अटे, कुमल, सानो मसिना, मनसुली लगायत विभिन्न प्रजातीका धानहरू रोप्ने गरिन्छ । जिल्लाको केही क्षेत्रमा बर्खे र अधिकांश ठाउँमा मङ्सिरे धान लगाउने गरिन्छ । बेसी फाँटमा वर्षमा दुई वाली समेत कृषकहरूले लगाउने गर्छन् । भोजपुर जिल्लाको देउराली, टक्सार, कोट, बोखिम, गुप्तेश्वर, मुलपानी लगायतका ठाउँहरू धानको लागि पकेट क्षेत्र मानिएको छ ।
कोसी प्रदेशमा अहिलेसम्म ८० दशमलव ३९ प्रतिशत रोपाइँ भएको छ । जसमा कुल खेतीयोग्य क्षेत्रफल आठ लाख २६ हजार छ सय ४६ हेक्टर मध्ये दुई लाख ७६ हजार तीन सय ८६ हेक्टरमा धान खेती हुने गरेको छ । धान खेती हुने क्षेत्रफलमा अहिलेसम्म दुई लाख २२ हजार एक सय ९२ हेक्टरमा रोपाइँ भएको कोसी प्रदेश कृषि निर्देशनालय विराटनगरले जनाएको छ । गत वर्ष अहिलेको समयसम्म ८६ दशमलव ९७ प्रतिशत धान रोपाइँ भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्