तपाईँ सुन्दै हुनुहुन्छः

नरैनापुरमा ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी, गर्भवतीलाई सहज

बाँके ।बाँकेको नरैनापुर गाउँपालिकामा सञ्चालनमा आएको ग्रामीण अल्ट्रासाउन्ड सेवाले गर्भवती महिलाहरूलाई सहज भएको छ। बाहिरी क्षेत्रमा महँगो शुल्क तिरेर गर्भ जाँच गराउनुपर्ने झन्झट हटेसँगै मातृ तथा शिशु मृत्युदर घटाउने प्रयासमा सहयोग पुगेको छ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहका अनुसार अल्ट्रासाउन्डमार्फत गर्भमा रहेको शिशुको अवस्था समयमै थाहा हुने भएकाले जोखिमपूर्ण अवस्थामा मातृ–शिशु दुबैको ज्यान जोगाउन सकिने सम्भावना बढेको छ।

सिअनमी लक्ष्मी गुरुङका अनुसार अल्ट्रासाउन्डले गर्भको अवस्था, बच्चाको तौल, उमेर, प्लासेन्टको स्थिति, ‘एम्नियोटिक’ तरलको मात्रा र मुटुको धड्कनबारे जानकारी दिन्छ। अहिले सेवा नरैनापुर–४ मा सञ्चालन भइरहेको छ।

गएको वर्षको असार मसान्तसम्म १,३८६ जना गर्भवतीले सेवा लिइसकेको स्वास्थ्य शाखाले जनाएको छ। सेवा प्रभावकारी देखिएकाले गाउँपालिकाले सबै ६ वडामा विस्तार गर्ने लक्ष्य राखेको छ। हाल एक मात्रै मेसिनमार्फत सेवा दिइँदै आएको छ।

गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले गाउँमै भिडियो एक्सरेमार्फत गर्भ परीक्षण सेवा पाएपछि महिलाहरू उत्साहित भएको बताउनुभयो। स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएकाले आगामी दिनमा थप कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button