बर्दघाटमा सरुवा भएका स्वास्थ्यकर्मी हाजिर हुन सकेनन्
नवलपरासी,पश्चिम् । बर्दघाट नगरपालिकाले वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत ९ जना कर्मचारी सरुवा अर्थात् हेरफेर गरेको छ ।कर्मचारी हेरफेर भएपछि सम्बन्धित वडाका वडा अध्यक्षहरूले असन्तुष्टि व्यक्त गरेपछि सरुवा भएका कर्मचारीहरू हाजिर हुन नसकेका हुन ।
प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले एकै पटक नौ जना कर्मचारीको सरुवा गरेपछि वडा अध्यक्ष हरुले हेरफेर गरिएका ती कर्मचारीहरूलाई हाजिर गर्न बाट रोक लगाएका छन् ।आफूहरूलाई कुनै खबर र आधिकारिक सरसल्लाह नगरी कर्मचारी सरुवा गरेको भन्दै उनीहरूलाई हाजिर नगराएको बताइएको छ ।
आधारभूत स्वास्थ्य केन्द्रको व्यवस्थापन समितिको अध्यक्ष स्वयं वडा अध्यक्ष रहने प्रावधान भएपनी आफूहरूलाई थाहै नदिई एकलौटी रूपमा कर्मचारी हेरफेर गरिएको वडा अध्यक्षहरूको आरोप छ ।स्वास्थ्य केन्द्र सञ्चालनको जिम्मा वडा अध्यक्षहरूलाई रहने भएकाले कुनै छलफल बिना सरुवा गरिएकाले निर्णय अमान्य हुने बर्दघाट नगरपालिका वडा नम्बर ९ का अध्यक्ष चन्द्रकान्त चापागाईँले बताउनु भयो ।”मेरो वडाको कर्मचारी सरुवा हुँदा मलाई थाहा हुनु पर्छ कि पर्दैन,थाहा पाउनु पर्ने त होलानि”अध्यक्ष चापागाईँले भन्नु भयो ।
यता बर्दघाट नगरपालिका वडा नम्बर १४ को दाउन्नेदेवी स्वास्थ्य चौकीमा सरुवा भएका बाबुराम तिमल्सिना हाजिर भएका छैनन् ।सरुवा प्रक्रिया बाट उनी आफै असन्तुष्ट बनेका छन् ।”यो मसान्तको बेला कुनै कमजोरी नहुँदा पनि हाम्रो राय नबुझी एकाएक सरुवा गरियो,जहाँ गएपनी काम नै गर्ने हो तर भर्खर हाम्रो स्वास्थ्य चौकी नयाँ भवनमा सरेकाले थुप्रै जिम्मेवारी छन् त्यसैले पनि असहज भएको हो यद्यपि सरुवा भएको ठाउँमा नजाने भन्ने होइन”तिम्सिनाले भन्नुभयो।उहाँ स्वास्थ्यका सातौँ तहका कर्मचारी हुनुहुन्छ।नगरपालिकाले उनको सट्टामा छैटौँ तहका कर्मचारी पठाएको छ ।
नगरपालिकाले सरुवा गर्दा किन हाजिर हुन दिनु भएन भन्ने प्रश्नमा नगर प्रवक्ता सन्त बहादुर गाहले भन्नुभयो – हाजिर नभएको कुरा बाहिर आएछ तर स्वास्थ्य केन्द्रको व्यवस्थापन समितिको अध्यक्ष वडा अध्यक्ष नै हुने हुँदा आफ्नो केन्द्रमा को कर्मचारी आउँदै छ भन्ने हामीलाई नै थाहा नभएको कुरा चाहिँ किन बाहिर आएन ।नगरपालिकाले एकलौटी रूपमा निर्णय गरेको वडा अध्यक्ष हरुको आरोप छ ।
यता प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले भने कर्मचारी सरुवा बढुवा हेरफेर कार्यालयको नियमित प्रक्रिया भएको बताउनुभयो ।अस्थायी ,करारमा रहेका ठाउँहरूमा मापदण्ड अनुरूप नै स्थायी कर्मचारी पठाइएको र कार्यालयको आवश्यकता अनुसार कर्मचारी सरुवाको अधिकार नियमत:प्रमुख प्रशासकीयलाई नै हुने खनालले बताउनुभयो ।”करार इन्चार्ज भएका दुई ठाउँमा ५ बर्से अवधि पछि शाखाको सल्लाह अनुसार नै मापदण्ड बनाएर स्थायीलाई पठाइएको छ अन्यमा पनि आवश्यकता अनुसार गरिएको हो यो नियमित प्रक्रिया हो”खनालले भन्नू भयो ।
आफूहरूलाई जानकारी बेगर प्रमुख प्रशासकीय अधिकृत,नगर प्रमुख र उपप्रमुख ३ जनाको सल्लाहमा मात्रै सरुवा गरिएको भन्दै ती कर्मचारीहरूलाई हाजिर हुन नदिने अडानमा वडा अध्यक्षहरू रहेका छन् ।केही वडा अध्यक्षहरूले भने यसलाई अनावश्यक बखेडाको रूपमा लिएका छन् भने असन्तुष्ट वडा अध्यक्षहरूले आधिकारिक रूपमा छलफल नभै निर्णय गर्न नहुने बताउँदै आएका छन् ।
उप प्रमुख रुद्र प्रकाश उपाध्यायले विशेष गरी दुई वटा मापदण्डका आधारमा सकेसम्म स्वास्थ्य केन्द्रहरूमा स्थायी कर्मचारी पठाउने र अर्को लामो समय एकै ठाउँमा रहेका कर्मचारीलाई न्यायपूर्ण रूपमा सरुवा गर्ने भन्ने उद्देश्यले नै सरुवा भएको बताउनुभयो ।”अहिले परिस्थिति खलबलिएको बेलामा वडा अध्यक्षहरूलाई माईनस गर्न यसो गरिएको होकि भन्ने पर्न गएको हो आफूले थाहा नपाउँदा त्यो कुरा आउनु स्वाभाविक हो तर अन्यायपूर्ण गरिएको छैन”उपप्रमुख उपाध्यायले भन्नुभयो ।यता वडा अध्यक्षहरूले भने मिलेमतोमा एकलौटी रूपमा नै हतारमा सरुवा भएको दाबी गर्दै आएका छन् ।
प्रतिक्रिया राख्नुहोस्