मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयक–२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।
बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले प्रस्तुत गर्नुभएको प्रस्तावमाथिको छलफलका क्रममा सांसदहरूले सूचना प्रविधिको प्रयोग बढ्दै जाँदा अपराधको प्रवृत्ति र क्षेत्रमा समेत परिवर्तन आएको हुनाले त्यसलाई सम्बोधन गर्ने गरी कानुनी सुधार गर्नुपर्ने बताउनुभयो ।
बैठकमा सांसदहरूले राम्रो सेवा सुविधा एवं लाभको प्रलोभन देखाएर झुक्याउने र मानव अङ्ग बेचबिखन, श्रम शोषण तथा यौन शोषण हुने गरेकोले कानुनी सुधारका साथसाथै यसको कार्यान्वयनका लागि आवश्यक स्रोतसाधनको समेत सुनिश्चित गर्न माग गर्नुभयो ।
मानव बेचबिखनबाट महिला, बालबालिका र विपन्न वर्गका नागरिक बढी प्रभावित हुने गरेकाले विधेयकमा पीडितलाई क्षतिपूर्ति, भरणपोषण र समाज तथा परिवारमा पुनस्थापना लागि छुट्टै कोषको व्यवस्था गर्न समेत सांसदहरूले माग गर्नुभयो ।
यस्तै बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिबी नियन्त्रण मन्त्री बलराम अधिकारीले प्रस्तुत गर्नुभएको भूमि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि स्वीकृत भएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक भोली साउन ९ गते शुक्रवार दिउँसो १ः०० बजे बस्ने छ ।







प्रतिक्रिया राख्नुहोस्