तपाईँ सुन्दै हुनुहुन्छः

रुकुमपूर्वमा ‘पानी उद्योग’ सञ्चालनमा

रुकुम पूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–६, खोपीचारमा ‘सिस्ने हिमाल शुद्ध पिउने पानी उद्योग’ असार महिनादेखि सञ्चालनमा आएको हो । अठाले ग्रुप प्रालि रुकुम पूर्वद्वारा सञ्चालित यस उद्योगमा करिब एक करोड रुपैयाँको लगानी गरिएको जनाइएको छ ।

उद्योग सञ्चालनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माण र कानुनी प्रक्रिया पूरा गरी सफल परीक्षण भइसकेको उद्योग सञ्चालक सुन रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कानुनी कामहरू पूरा भएपछि उद्योगबाट उत्पादन भएको पानी अहिले बजारमा बिक्री वितरण भइरहेको छ ।

उद्योगबाट बोतल तथा जारमा पानी भरेर वितरण थालिएको छ । जिल्लामा सञ्चालनमा आएको यो दोस्रो मिनरल वाटर उद्योग हो । यसअघि २०७७ सालमा सिस्ने गाउँपालिका–७ चिसापानीमा पानी उद्योग सञ्चालनमा आएको भए पनि केही समयपछि बन्द भएको थियो ।

हाल रुकुमपूर्वमा रुकुम पश्चिम, दाङ, सल्यान लगायतका जिल्लाबाट ल्याइएको पानी उपभोग हुँदै आएको छ । अब भने जिल्लामै उत्पादन गरिएको पानी प्रयोगमा आउने उद्योगले जनाएको छ ।

उद्योगले उत्पादन गरेको पानी दैनिक रूपमा प्रशोधन गरी प्रयोगशालामा परीक्षणपछि मात्रै बजारमा पठाइने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button