तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक राजस्व कार्यालय पोखराले अघिल्लो वर्षभन्दा ५१ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गर्न सफल 

पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले अघिल्लो आर्थिक वर्षको तुलनामा गत बर्ष २०८१/०८२ मा ५१ करोड रुपैयाँले बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयले ६ अर्ब ८ करोड ४६ लाख रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको छ भने उक्त राजश्व अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले बढी रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले आर्थिक बर्ष २०८०/०८१ मा ५ अर्ब ५७ करोड ५९ लाख ७ हजार रुपैयाँ सङ्कलन गर्न सफल भएको थियो । चालु वर्षको लागि ७ अर्ब १९ करोड १७ लाख ७५ हजार रुपैयाँको लक्ष्य राखिएकोमा ८५ प्रतिशत लक्ष्य पुरा गर्न सफल भएको कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले बताउनु भयो । 

सहकारी क्षेत्रमा देखिएको समस्या र आर्थिक गतिशीलतामा आएको सुस्तताको लगायतका कारणले गर्दा राजस्व सङ्कलन अपेक्षाकृत हुन नसके पनि अघिल्लो वर्षको तुलनामा नतिजा उत्साहजनक रहेको उहाँले बताउनु भयो । 

कार्यालयले आ.व. २०८१/०८२ मा आयकरतर्फ ३ अर्ब ९९ करोड ४२ लाख, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ८९ करोड ५९ लाख र अन्तः शुल्कतर्फ १८ करोड ४५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । 

हाल आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत ६८ हजार व्यावसायिक प्यानधारी करदाता रहनु भएको छ । तीमध्ये १२ हजार ५ सय जना मूल्य अभिवृद्धि कर (मू.अ.कर) मा दर्ता हुनु हुन्छ । व्यक्तिगत प्यानधारीको सङ्ख्या २ लाख १० हजार पुगेको कार्यालयले उल्लेख गरेको छ । 

कार्यालय परिसरमै करदाता सहायता कक्ष सञ्चालनमा

करदातालाई कार्यालयको सेवा सरल र प्रभावकारी बनाउन आर्थिक बर्ष २०८२/०८३ को पहिलो दिनदेखि कार्यालय परिसरमै करदाता सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले एक कार्यक्रमका बीच सहायता कक्षको उद्घाटन गर्दै जनतालाई सर्वसुलभ ढंगले कर तिर्ने वातावरण सृजना गर्न आग्रह गर्नु भयो ।  जीआईजेडको सहयोगमा पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ तथा आन्तरिक राजस्व कार्यालयको सहकार्यमा सो कक्ष स्थापना गरिएको हो ।

सहायता कक्षबाट करदाताले कर सम्बन्धी जानकारी, परामर्श र अन्य आवश्यक सहयोग सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button