तपाईँ सुन्दै हुनुहुन्छः

महिला यु–२० साफ च्याम्पियनसिपमा नेपाल विजयी

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिपमा नेपाल श्रीलङ्काविरुद्धको खेलमा विजयी भएको छ ।

बङ्गलादेशको ढाकास्थित बसुन्धरा किङ्स इरिनाको अभ्यास मैदानमा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ७–० गोलअन्तरले पराजित गरेको हो । 

यसअघि पनि पहिलो खेलमा नेपालले श्रीलङ्कालाई समान ७–० गोल अन्तरले नै हराएको थियो । योसँगै नेपालले चार खेलबाट ९ अङ्क जोडेको छ । चार खेल खेलेको श्रीलङ्का भने अङ्कविहीन छ । 

श्रीलङ्काविरुद्धको खेलमा आज पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल थप्यो । नेपालका लागि कुसुम खतिवडा र समीक्षा मगरले समान दुई÷दुई गोल गरे । पूर्णिमा राई, बिर्सना चौधरी र सरिता नाथले समान एक एक गोल गरे ।

खेलको १६औँ मिनेटमा पूर्णिमाले हेडरमार्फत गोल गरिन् । त्यस्तै खेलको ३५औँ मिनेटमा कुशुमले नेपालको अग्रता दोब्बर बनाइन् । खेलको ४२औँ मिनेटमा सरिताले तेस्रो गोल गरिन् । खेलको ४५औँ मिनेटमा कुसुमले व्यक्तिगत दोस्रो तथा नेपालका लागि चौथो गोल गरिन् । 

मध्यान्तरपछि खेलको ६६औँ मिनेटमा बिर्सिनाले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई ५–० गोलको अग्रता दिलाइन् । खेलको ७४औँ मिनेटमा समीक्षाले गोल गरिन् । खेलको ७८औँ मिनेटमा समीक्षाले नै व्यक्तिगत दोस्रो गोल गर्दै ७–० गोलअन्तरले विजयी दिलाइन् । 

नेपालले अब शनिबार भुटानसँग खेल्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button