५ महिनामा ४ करोड ९० लाख बराबरको अवैध सामान बरामद
बाँके। चाडपर्व नजिकिएसँगै बढेको अवैध चोरी–निकासी नियन्त्रण गर्न सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी कडा पारेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेले पछिल्लो ५ महिनामा करिब ४ करोड ९० लाख ९ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।
गणपति प्रहरी उपरीक्षक शोभाकान्त खनालका अनुसार बरामद गरिएका सामग्रीमा किराना सामान, लत्ताकपडा, मोटर पार्ट्स, सवारी साधन लगायतका सामान छन्। चालु आर्थिक वर्षको असार महिनामात्रै १ करोड ८ लाख रुपैयाँभन्दा बढीको सामान बरामद गरी नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
सीमा क्षेत्रमा हुने तस्करी र अन्य अवैध गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले जिल्लाका सबै ८ वटा बीओपीहरू — कटकुइया, नरैनापुर, गंगापुर, खडैँचा, कालाबन्जार, जमुनाहा, जयसपुर र बढैयाताल — मा निगरानी कडा बनाएको छ।
प्रहरी उपरीक्षक खनालले सीमा नाकाको सुरक्षा, राजस्व संकलन, चोरी–निकासी नियन्त्रण र मानव तस्करी विरुद्ध सशक्त रूपमा काम गर्न निर्देशन दिएका छन्। उनले सिमानाका गतिविधिमा मातहतका सुरक्षाकर्मीलाई कानुनी बमोजिम कठोर रूपमा प्रस्तुत हुन आग्रह गरेका छन्।
खनालले तस्करी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गर्दै सरोकारवाला निकायहरूसँगको समन्वयमा निगरानी अझ कडा बनाउने बताएका छन्।
प्रतिक्रिया राख्नुहोस्