तपाईँ सुन्दै हुनुहुन्छः

धनुषा जिल्ला अदालतद्वारा करिब ५७ प्रतिशत मुद्दा फर्छ्यौट

जनकपुरधाम । धनुषा जिल्ला अदालतले आर्थिक वर्ष २०८१–०८२ मा ५६.८९ प्रतिशतले मुद्दाको फर्छ्यौट गरेको छ ।

अदालतमा नयाँ तथा पुराना गरेर ९ हजार ९ सय ३२ मुद्दा रहेकोमा आजको मितिसम्ममा ५ हजार ६ सय ४९ मुद्दाको फर्छ्यौट भएको धनुषा जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश चुडामन खड्काले जानकारी दिनुभयो । अब अदालत ४ हजार २ सय ८२ मुद्दा बाँकी रहेको छ ।

अदालतलाई वार्षिक रुपमा ६५ प्रतिशत मुद्दाको फर्छ्यौट गर्ने लक्ष्य तोकिएकोमा नयाँ मुद्दा अनुमान भन्दा बढी दर्ता भएका कारणले तोकिएको लक्ष्य पुरा नभएको आज पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा जिल्ला न्यायाधीश खड्काले जानकारी दिनुभयो । अदालतमा जिम्मेवारी सरेर आएका ४ हजार १ सय ७९ र नयाँ दर्ता भएका ५ हजार ५ सय ८४ मुद्दा गरेर कूल मुद्दा ९ हजार ९ सय ३२ रहेकाले क्षमता भन्दा बढी मुद्दा दर्ता भएकाले लक्ष्य अनुसारको फर्छ्यौट नभएको जानकारी अदालतले दिएको छ ।

यसै गरि अदालतमा १८ महिना पुगेका मुद्दाको सङ्ख्या २ हजार ७८ रहेकोमा १ हजार ८ सय ३९ मुद्दाको फैसला भएको छ भने अव २ सय ३९ मुद्दा मात्र बाँकी रहेको छ । २ वर्ष पुराना मुद्दाको सङ्ख्या १ हजार १ सय ४६ रहेकोमा आषाढ मसान्तसम्ममा १ हजार ४७ मुद्दाको फैसला भएर ९९ वटा मात्र बाकी रहेको धनुषा जिल्ला अदालतले जनाएको छ ।  

यता जिल्ला अदालतमा पारिवारिक इजलास सम्बन्धि ५ सय ८२ मुद्दा मध्ये ३ सय ६ वटाको फर्छ्यौट भएको छ भने २ सय ७६ वटा बाँकी रहेको छ । वाल इजलास सम्बन्धि १ सय ८१ मुद्दा मध्ये १ सय २८ वटाको फैसला हुनुका साथै ५३ वटा अझै बाँकी रहेको छ ।

धनुषा जिल्ला अदालतमा ४ हजार १ सय ७१ देवानी प्रकृतिका मुद्दा रहेको छ । जसमा लेनदेनको बढी नै रहेको छ । लेनदेनको २ हजार ४ सय १ त्यसपछि अंश दर्ता ७ सय ४८, सम्बन्ध विच्छेद ३ सय १४, माना चावल ४५ र नाता कायम २३ रहेको छ ।

सरकारवादी फौजदारी अन्तर्गत ७ सय ४६ मुद्दा रहेकोमा त्यसमा बैंकिङ्ग कसुरको मुद्दा १ सय ३१ रहेको छ भने करणी कसुर ६३, बहु तथा बालविवाह २२ रहेका छन् । दुनियाँवादी अन्तर्गत चेक अनादर सम्बन्धि ३ सय ४३ रहेका छन् । यसै गरि घरेलु हिंसा र गाली बेइज्जती गरेर १ हजार ५ सय ३९ मुद्दा रहेका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button