करिब ३३ महिनापछि पोखरामा सोलो प्याराग्लाइडिङ उडान पुनः सुरु हुँदै
पोखरा।पर्यटनको राजधानी पोखरामा करिब ३३ महिनापछि सोलो (एकल) प्याराग्लाइडिङ उडान पुनः सुरु हुन लागेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सुरक्षालाई प्राथमिकता दिँदै सोलो उडानलाई अनुमति दिएको हो।
क्यानको मनोरञ्जनात्मक उड्डयन शाखा प्रमुख ज्ञानेन्द्र भुलले हस्ताक्षर गरेको अनुमतिको पत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय र प्राधिकरणसम्बद्ध संस्थालाई आवश्यक स्थलगत अनुगमन गर्न अनुरोध गरिएको छ।

नेपाल हवाई खेलकुद संस्था (नाका) का अध्यक्ष अनिल केसीका अनुसार, अनुमति प्राप्त भएपछि साउनको पहिलो हप्ताबाट सोलो उडान सुरु गरिनेछ। कम्पनीहरू र पाइलटहरूलाई जानकारी दिइसकिएको र सुरक्षामूलक सहजीकरण कार्यक्रमको आयोजना गरी उडान थालिने उहाँले जानकारी दिनुभयो।
सोलो उडान बन्द हुँदा हरेक वर्ष करोडौँको राजस्व गुम्दै आएको अध्यक्ष केसीले बताउनुभयो। खुला नेपाल प्याराग्लाइडिङ प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुद २०७९ असोज ३० बाट सोलो उडान बन्द गरिएको थियो।
सोलो उडान पुनः सुरु भएपछि नेपाली पाइलटको क्षमता अभिवृद्धि हुने र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने नाका अध्यक्ष केसीले बताउनुभयो। उहाँका अनुसार, हालसम्म करिब ४ सय पाइलटले लाइसेन्स प्राप्त गरेका छन् भने २४० जना यो पेसामा प्रत्यक्ष संलग्न छन्।
सोलो उडान बन्द हुनुको प्रमुख कारण दशौं राष्ट्रिय खेलकुदमा सहभागी नेपाली सेनाका खेलाडी निसिम थापा मगरको निधन थियो। सारङकोटबाट उडे लगत्तै करिब १०० मिटर माथिबाट खस्दा गम्भीर घाइते भएका थापालाई अस्पतालमा मृत घोषित गरिएको थियो।
हाल मानेडाँडाबाट तोरीपानीसम्म उडान र पामेबाट खपौदीमा अवतरण गर्ने अनुमति दिइएको छ। पछिल्लो समय प्याराग्लाइडिङ पर्यटकको सङ्ख्यामा करिब २० प्रतिशत वृद्धि भएको अध्यक्ष केसीको दाबी छ। फेवातालको आकाशमा उड्न पाउँदा पर्यटकहरू उत्साहित रहेको र बुकिङ समेत बढेको उहाँले जनाउनुभयो।
प्रतिक्रिया राख्नुहोस्