तपाईँ सुन्दै हुनुहुन्छः

गाउँलाई हराभरा बनाउन गुणस्तरीय शिक्षा आवश्यक छ: मन्त्री बस्याल

कास्की । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले रित्याएका गाउँहरूलाई पुनः हराभरा बनाउन गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताउनु भएको छ । 

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले कास्कीको कृषि अनुसन्धान निर्देशनालय, लुम्लेमा आयोजना गरेको ‘हाम्रो खुसी’ पाठ्यक्रम दृष्टिकोण निर्माण कार्यशालाको आइतबार सम्पन्न समारोहमा बोल्दै मन्त्री बस्यालले ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्यको अभावले गाउँहरू सुनसान बन्दै गएको उल्लेख गर्दै खाली हुँदै गएका गाउँहरूलाई पुनः हराभरा बनाउन गुणस्तरीय शिक्षाको आवश्यकता भएको बताउनु भएको हो । 

“गुणस्तरीय शिक्षा दिने वातावरण बनाउन सके शहर र विदेश झरेका युवालाई समेत गाउँ फर्काउन सकिन्छ,” मन्त्री बस्यालले भन्नुभयो, “गाउँमा बस्ने वातावरण सिर्जना गर्न शिक्षकहरूको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ।” शिक्षा र स्वास्थ्यलाई जीवनको पहिलो जगको रूपमा परिभाषित गर्दै उहाँले स्थानीय तहलाई प्राप्त अधिकार अनुसार अनुकूल पाठ्यक्रम निर्माणको प्रक्रिया अगाडि बढाइएको जानकारी समेत दिनुभयो । 

कार्यक्रममा भारतीय शिक्षा बोर्डका सल्लाहकार श्रवण कुमार शुक्लाले प्रशिक्षण  गराउनु भएको थियो । उहाँले मानव जीवनको बारेमा र शिक्षकको आचरणको बारेमा बुझाउनुका साथै आत्मपरिचय र मूल्यमा आधारित जीवन शैलीतर्फ सोच्न आग्रह गर्नुभयो । लाभ वा सुविधा भन्दा पनि जीवनको उद्देश्य र सकारात्मक सोचले भरिएको शिक्षाले समाजमा परिवर्तन ल्याउन सक्ने उहाँको दाबी थियो । 

कार्यक्रमको समापन समारोहमा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खेमबहादुर थापा मगरले कार्यशालाले विद्यालयलाई थप जीवनमुखी बनाउने विश्वास व्यक्त गर्नुभयो । शिक्षा समाज परिवर्तनको मूल आधार भएको दाबी गर्दै उहाँले अब शिक्षकले पाठ्यक्रम मात्र नपढाई जीवन विज्ञान समेत बढाउन कास्कीबाट पालिकाका शिक्षकहरूलाई निर्देशन दिनुभयो । 

कार्यक्रमका उपाध्यक्ष सावित्रा कोइरालाले विद्यालयबाट घरघरमा सकारात्मक प्रभाव पुगोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 

कार्यक्रममा मध्य विन्दु नगरपालिका शिक्षा महाशाखा प्रमुख पद्मराज आचार्य, सहभागी भएका शिक्षक शान्त ज्ञवाली, कमलप्रसाद न्यौपाने, लगायतले कार्यशालाबाट जीवन उपयोगी ज्ञान, सिपको विकास, सकारात्मक ऊर्जा र भौतिक जीवनबाट मानव जीवनमा रूपान्तरणको प्रेरणा प्राप्त भएको बताउनु भयो । कार्यशालामा कालीगण्डकी गाउँपालिका, कावासोती नगरपालिका र मध्यबिन्दु नगरपालिकाका विद्यालयका प्रधानाध्यापक, शिक्षक, पालिकाका पदाधिकारी तथा शिक्षा महाशाखाका प्रतिनिधिहरू गरी १ सय १० जनाको सहभागिता रहेको पालिकाकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिर्मा विष्टले बताउनु भयो । 

कार्यशालाले कालीगण्डकी गाउँपालिकालाई स्थानीय स्तरमै ‘खुशी पाठ्यक्रम’ लागू गर्न थप सहयोग गरेको छ । मानवीय मूल्य समेटिएको यस्तो पाठ्यक्रमले भावी पुस्ताको समग्र विकासमा टेवा पु¥याउने विश्वास गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button