मन्त्री अधिकारीद्वारा बर्दघाटका भूमिहीनलाई पुर्जा वितरण

नवलपरासी I भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्दघाटका भूमिहीनलाई पुर्जा वितरण गर्नु भएको छ ।
बर्दघाट नगरपालिकाद्वारा आयोजित एक कार्यक्रमका बिच मन्त्री अधिकारीले बर्दघाट नगरपालिका वडा नम्बर ५ का भूमिहीनलाई लालपुर्जा वितरण गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले स्थानीय पालिकाहरू र जिल्ला भूमि आयोग बिच केही समन्वय अभाव देखिएको बताउँदै आयोग र स्थानीय तहका प्रतिनिधि बसेर एकीकृत छलफल गर्नु पर्ने उल्लेख गर्नु भयो ।मन्त्री अधिकारीले स्थानीय तहहरुले कृषि र आवास गरि जग्गा वर्गीकरण गर्ने कुरामा समेत समस्या उत्पन्न भएकाले त्यसलाई सुधार गर्नु पर्ने र स्थानीय तहहरूलाई सो अधिकार भएको उल्लेख गर्नु भयो ।पुर्जा वितरण कार्यलाई जस लिने भन्दा पनि गरेका कामको जनता आफैले मूल्याङ्कन गर्ने समेत उहाँले बताउनुभयो ।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले दोहोरो दर्ता,अनियमित दर्ता लगायतका समस्याहरू देखा परेकाले त्यस तर्फ पनि सम्बन्धित निकाय लाग्नु पर्नेमा जोड दिनु भयो । भूमिहीन, दलित र अव्यवस्थित सुकुम्वासीहरूका निम्ति जग्गा नापजाँच गर्नका निम्ति नगरपालिकाले उल्लेख बजेटको व्यवस्थापन गरेको बताउँदै नगरप्रमुख श्रेष्ठले वास्तविक सुकुम्वासीहरू पुर्जा पाउन बाट नछुट्ने गरि काम अघि बढाउनु पर्ने बताउनुभयो ।
भूमि आयोगका केन्द्रिय अध्यक्ष हरिप्रसाद रिजालले अहिले नेपालभर अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र भूमिहीन दलित दलित नयाँ र पुराना गरी १२ लाख १३ हजार भूमिहीनहरूको निवेदन परेको बताउँदै सबैलाई आफू बसेको भूमिको स्वामित्व दिलाउन आयोग तत्पर रहेको बताउनु भयो ।
पुर्वगृहराज्य मन्त्री देवेन्द्र राज कँडेलले जग्गा पाएका सुकुम्वासीहरूले १० बर्ष सम्म उक्त जग्गा बिक्री वितरण गर्न नपाउने प्रावधान रहेकाले वित्तीय संघ सस्थाहरुमा आफ्नो जमिन राखेर ॠण लिन पाउने सुविधा राज्यले तयार गर्नु पर्नेमा जोड दिनुभयो ।
बर्दघाट नगरपालिकामा भूमिहीन दलित ८४४,भूमिहीन सुकुम्बासी १४८१ र अव्यवस्थित बसोबासी ४९४५ गरी कुल ७२७० जनाको निवेदन प्रविष्ट भएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।आयोगका जिल्ला अध्यक्ष लाल बहादुर गुरुङले भूमिहीनहरू बसोबास गर्दै आएका कतिपय जमिन हरू खरबारी,घोल जस्ता क्षेत्रहरू भनेर उल्लेख भएको हुँदा त्यसको व्यवस्थापनमा कठिनाई भएकाले त्यसको समाधानका लागि मन्त्री अधिकारीलाई आग्रह गर्नु भयो ।वडा नम्बर ५ मा आज ६७ जनालाई पुर्जा वितरण गरिएको छ ।भने अन्यको समेत प्रक्रिया अघि बढाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्