तपाईँ सुन्दै हुनुहुन्छः

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता : राष्ट्रपति पौडेल 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता भएको बताउनुभएको छ । 

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्म जयन्तीको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो– ‘मैले गिरिजाप्रसाद कोइरालाका बारेमा एकै शब्दमा भन्नुपर्दा उहाँ क्रान्तिको पनि नेता हो, उहाँ शान्तिको पनि नेता हो ।’

राष्ट्रपति पौडेलले राजनीतिको दिशा बदल्ने सामर्थ्य राखेर गिरिजाप्रसादले लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्ने, शान्ति प्रक्रियालाई अगाडि बढाउने र गणतन्त्र स्थापन गर्ने पछिल्लो कालखण्डको महत्वपूर्ण तीन राजनीतिक परिघटनालाई नेतृत्व लिएको स्पष्ट पार्नुभयो । जीवनको उत्तरार्धमा गिरिजाप्रसाद कोइराला नेताबाट राजनेताको स्थान प्राप्त गर्न सफल हुनुभयो जो, हामी सबैका लागि सधैँ प्रेरणाको स्रोत रहिरहनुभएको राष्ट्रपति पौडेलले भनाई थियो । 

राष्ट्रपति पौडेलले शान्ति, स्थायित्व, मेलमिलाप, सहकार्य, सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनहरूको समुचित उपयोगबाट मात्र हामीले राखेको मुलुकको समृद्धिको लक्ष्य पूरा हुने बताउनुभयो । उहाँले भन्नुभयो–‘जनता आफैँले बनाएको संविधान हामीले पाएका छौँ । जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको अभिष्ट हो । शान्ति, स्थायित्व, मेलमिलाप, सहकार्य, सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनहरूको समुचित उपयोगबाट मात्र यो लक्ष्य पुरा हुन्छ ।’

उहाँले आर्थिक विकासको मोडेलमा दार्शनिक मतभिन्नता रहँदा रहँदै पनि पुँजीवादी र कम्युनिस्ट चिन्तनबिच मध्यमार्गी धार समाएर गिरिजाप्रसादको कार्यकालमा आर्थिक विकासको मोडेलले संसारभर विभिन्न नकारात्मक आर्थिक झड्का आउँदा पनि नेपालको अर्थतन्त्र केही हदसम्म जोगिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button